त्रिभूवन विश्वविद्यालय उपकुलपति अर्यालद्वारा क्याम्पसलाई अनुसन्धानमा बजेट खर्च गर्न आग्रह


काठमाडाैँ । त्रिभूवन विश्वविद्यालय उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको कम्तीमा पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गरेका छन् ।

सोमवार पशुपति बहुमुखी क्याम्पसको ४६ औँ वार्षिकोत्सव समारोहमा उनले न्यूनतम साढे दुईदेखि पाँच प्रतिशतसम्म क्याम्पसको बजेट अनुसन्धानमा लगानी गर्न निर्देशन दिएका हुन् । उनले विश्वविद्यालयले क्याम्पसहरूलाई औपचारिक पत्रमार्फत अनुसन्धानका लागि बजेट खर्च गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको जानकारी दिए ।

उपकुलपतिले पशुपति क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न पनि आग्रह गर्दै भने, “यसले सिंगो त्रिभूवन विश्वविद्यालयको शैक्षिक स्तर उकास्न सहयोग पुग्नेछ। विश्वविद्यालयले पत्र पठाउनेछ, कम्तीमा आफ्नै आम्दानीको केही प्रतिशत अनुसन्धानमा खर्च गर्नुहोला। हामीले आंगिक क्याम्पसहरूमा पाँच प्रतिशत अनिवार्य गरेका छौँ, तर तपाईंहरूको आय र क्षमताअनुसार कम्तीमा साढे दुईदेखि पाँच प्रतिशत खर्च गर्नुहोला।”

उनले विश्वविद्यालयले हाल दुई प्रमुख कार्यक्रम अघि बढाएको जानकारी दिए। पहिलो कार्यक्रम डिजिटाइजेशन हो, जस अन्तर्गत विश्वविद्यालयका सबै अभिलेखहरू डिजिटल रूपमा सुरक्षित राख्ने काम भइरहेको छ।

यसका लागि आवश्यक सफ्टवेयर खरिद गर्न टेण्डर आह्वान गरिएको छ। दोस्रो कार्यक्रम विश्वविद्यालयको संरचनात्मक पुनर्संरचना हो, जसका लागि क्याम्पसहरूको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए ।

उपकुलपतिले क्याम्पसका प्राध्यापकहरूको स्तर निर्धारणसम्बन्धि मापदण्ड सिनेटबाट अनुमोदन भइसकेको र कलेज नविकरण प्रक्रियामा देखिँदै आएको प्रशासनिक झन्झट हटाउन आवश्यक प्रक्रिया पनि सुरू गरिएको जानकारी दिए ।