काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले देशमा राष्ट्रिय सदाचार नीति कार्यान्वयन नहुँदा भ्रष्टाचार र कुशासन गहिरिँदै गएको निष्कर्ष निकालेका छन्।
सभाको सोमबार बसेको बैठकमा राष्ट्रिय सदाचार नीतिसम्बन्धी संसदीय समितिको अध्ययन प्रतिवेदनमाथिको छलफलमा सहभागी सांसदहरूले नीति तत्काल लागू गर्नुपर्नेमा जोड दिएका हुन्।
छलफलका क्रममा नेपाली कांग्रेसकी सांसद विष्णुकमारी सापकोटाले राष्ट्रिय सदाचार नीति, २०८२ को मस्यौदाको पृष्ठभूमिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू समेटिएको जानकारी दिँदै नेपालमा नीति कार्यान्वयन नहुँदा भ्रष्टाचार बढ्दै गएको बताएकी हुन् ।
उनले संयुक्त राष्ट्र महासंघले सन् २००५ मै सदस्य राष्ट्रहरूलाई आठ बुँदासहित सदाचार नीति लागू गर्न निर्देशन दिएको भए पनि नेपालमा दुई दशक बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको उल्लेख गरिन्। राजनीतिक दल र कर्मचारीतन्त्रले सदाचारिता अवलम्बन गरे मुलुक विकास र समृद्धिको यात्रामा अघि बढ्ने उनको धारणा थियो।
नेकपा (एमाले) की सांसद तुलसाकुमारी दाहालले नेपाली समाजमा आपसी विश्वास कमजोर हुँदै गएको र नैतिक मूल्य–मान्यताहरू संकटमा परेको बताइन् ।
उनले पहिले संघीय र केन्द्रीय तहमा सीमित रहेको भ्रष्टाचार अहिले प्रदेश र स्थानीय तहसम्म फैलिएको उल्लेख गर्दै सुशासन र कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको धारणा राखिन्। समाजमा गलत प्रतिस्पर्धा, अमानवीय व्यवहार बढ्दै गएको र निष्ठा तथा आत्मसम्मान जस्ता मूल्यहरू ओझेलमा परेको उनको भनाइ थियो।
यसैगरी नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले सदाचार नीति लागू नहुँदा मुलुक अविश्वास र अमानवीयताको खडेरीमा परेको बताए । उनले आम नागरिकलाई खुशी र समृद्ध बनाउन सबै क्षेत्र, तह र वर्गमा सदाचारिताको आवश्यकता रहेको उल्लेख गरे । भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न राष्ट्रिय सदाचार नीति अपरिहार्य आवश्यकता भएको उनको निष्कर्ष थियो।


प्रतिक्रिया दिनुहोस्