दुई सातादेखि नेपाल ग्यासको चरम अभाव, उपभोक्ता कार्यालयमै धाउन बाध्य


काठमाडाैँ । दुई सातादेखि बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अझै हट्न सकेको छैन।

विशेषगरी नेपाल ग्यासको चरम अभाव देखिँदा उपभोक्ता ठूलो समस्यामा परेका छन्। काठमाडौँ उपत्यकाभर नेपाल ग्यासको बजार हिस्सेदारी धेरै भएकाले यसको अभावले दैनिक जीवन नै प्रभावित भएको उपभोक्ताहरू बताउँछन्।

भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा समस्या थप जटिल बनेको छ। पछिल्लो दुई सातादेखि नेपाल ग्यासका विक्री केन्द्रहरूमा ग्यास नपाइएपछि उपभोक्ता खाली सिलिण्डर बोकेर बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यासको केन्द्रीय कार्यालयमै धाउन थालेका छन्। कार्यालयमै पुग्दा पनि ग्यास नपाएको गुनासो बढ्दो छ।

नयाँ बसपार्कबाट खाली सिलिण्डर बोकेर बालाजु पुगेका उपभोक्ता नमराज घिमिरेले डिपो र कम्पनी दुवैतिर धाउँदा पनि ग्यास नपाएको दुखेसो सुनाए ।उनका अनुसार घरमा ग्यास सकिएपछि डिपोले कम्पनीमै जान सल्लाह दिए पनि त्यहाँ पुग्दा समेत ग्यास उपलब्ध भएन।

“घरमा ग्यास अत्यावश्यक भइसकेको छ। डिपोमा १०–१५ दिनदेखि पालोमा राखे तर पालो आएन। कम्पनीमै ग्यास बाँडिएको छ भन्ने सुनेर यहाँ आएको हो, तर आज पनि पाइएन। परिवार नै बिचल्लीमा परेको छ,” घिमिरेले भने ।

चाबहिलमा डेरा गरी बस्दै आएका रौतहट घर भएका प्रेम साहले पनि ग्यास नपाउँदा दाउरामा खाना पकाउनुपरेको बताए। उनले काठमाडौँमा ब्याकको काम गर्दै आएको र ग्यास सकिएपछि तीन दिनदेखि खोज्दा पनि नेपाल ग्यास नपाएको गुनासो गरे ।

“दाउरामा पकाएर खानुपरेको छ। एक घण्टादेखि कम्पनीको कार्यालयमै छु, तर अहिलेसम्म ग्यास पाएको छैन। आज त खान नखाई ग्यास लिन आएको हुँ,”साहले भने।

त्यस्तै, धार्दिङ घर भइ हाल काठमाडौँ बस्दै आएका विद्यार्थी अर्जुन सिम्खडाले पनि आफ्नो बसोबास क्षेत्र नेपालटार आसपास कतै नेपाल ग्यास नपाएको बताए । डिपोले बालाजु औद्योगिक क्षेत्र पठाए पनि कम्पनीको कार्यालयमै पुगेर समेत ग्यास नपाएको उनको भनाइ छ।

“हिजो पनि ग्यास लिन आएँ, पाइएन। आज पनि पाउने हो कि होइन थाहा छैन। डेरामा एउटा मात्रै सिलिण्डर थियो, त्यो सकिएपछि निकै समस्या भयो,” सिम्खडाले भने ।

उपभोक्ताको व्यापक गुनासोकाबिच नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले अभाव कायम रहेको जनाएको छ। नेपाल ग्यासका कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार नेपाल ग्यासको दैनिक माग ८–१० बुलेट बराबर रहेको छ।

“ढुवानीमा केही समस्या आएपछि बजारमा असर परेको हो। अहिले समस्या समाधान भइसके पनि बजारको चक्र बिग्रिएकाले सामान्य अवस्थामा फर्किन केही दिन लाग्छ,” भण्डारीले भने ।

उनका अनुसार नेपाल ग्यास राज्यबाट नियन्त्रित व्यवसाय भएकाले यसमा राज्यको समेत भूमिका आवश्यक छ। आफ्नै बुलेट नहुँदा लोडिङमा समस्या आएको र पाइपलाइन प्रणाली कार्यान्वयन भए यस्ता समस्या बारम्बार नदोहरिने उनको भनाइ छ।

भण्डारीले नेपाल ग्यासको दैनिक खपत करिब ८ हजार सिलिण्डर रहेको र जाडो मौसममा माग अझै बढ्ने बताए । हाल बजारमा मागभन्दा बढी ग्यास उपलब्ध गराइएको दाबी गर्दै देखिएको अभाव क्रमशः कभर हुँदै गएको र आत्तिनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे।

यसैबिच नेपाल आयल निगमले नेपाल ग्याससहित केही ग्यास उद्योगमा देखिएको अभावबारे जानकारी रहेको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले उद्योगीलाई अभाव हटाउन कडा निर्देशन दिइएको बताए ।

“भारतबाट समयमै ढुवानी नहुँदा समस्या आएको छ। ग्यास ढुवानीमा हामी भारतीय ढुवानीकर्तामै निर्भर छौँ। ढुवानीकर्ता समयमा नआउँदा समस्या हुन्छ,” ठाकुरले भने।

उनका अनुसार उद्योगीलाई बोलाएर समस्या समाधानका लागि छलफल गरिएको छ भने इण्डियन आयल कर्पोरेसनसँग पनि निगमले समन्वय गरिरहेको छ। निर्वाचन नजिकिएकाले अभाव हटाउन निगमले विशेष चासो दिएको र कालोबजारी भए कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।