काठमाडौँ । इसेवाको ब्रान्ड गीत ‘सबै, सधैं, सँगै’ सार्वजनिक भएको छ । इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्यूब च्यानलबाट ब्रान्ड गीत सार्वजनिक गरिएको हो ।
इसेवाको मूल ब्रान्ड नारा ‘सबै, सधैं, सँगै’ मा आधारित यस गीतले आपसी साथ, भरोसा र एकताको भावनालाई उजागर गरेको छ । साथै, यस गीतले परिवर्तन र चुनौतीका बिच पनि एकअर्काको साथमा उभिने सन्देश बोकेको छ ।
गीतमा एकअर्कालाई साथ दिँदाको मौन शक्ति र सामूहिक एकतालाई उत्सवका रूपमा प्रस्तुत गरिएको छ ।
आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने मूल उद्देश्यसहित भुक्तानीसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको इसेवाले ‘सबैलाई समेट्ने, सधैं साथ दिने र सँगै अघि बढ्ने’ मूल मान्यता बनाएको छ । इसेवाको ब्रान्ड गीतमा पनि सोही भावना व्यक्त गरिएको छ ।
विप्लव प्रतीकको शब्दमा रहेको यस गीतमा मनोज कुमार केसीले संगीत भरेका छन् ।
त्यस्तै, गीतमा नेपालका ९ जना चर्चित गायक गायिकाहरू सुबानी मोक्तान, शीतल मोक्तान, प्रजिना, रोहित जोन क्षेत्री, प्रिजोल नेपाली, रिना गिरी, सुशान्त घिमिरे र प्रवेश कुमार श्रेष्ठले स्वर दिएका छन् । यसै गरी, गीतमा प्रिन्स नेपालीको सारङ्गी बादन रहेको छ ।
यो गीत कठिन समयदेखि परिवर्तनको यात्रासम्म एकअर्कालाई साथ दिँदै अघि बढ्ने विश्वासको प्रतिनिधित्व रहेको कम्पनीले जनाएको छ । यो गीत, साथ र सहकार्यको शक्तिमा विश्वास गर्ने सबैका लागि समर्पित गरिएको इसेवाले जनाएको छ ।
गीत सहज समयमा मात्र नभई अनिश्चित र चुनौतीपूर्ण क्षणहरूमा पनि एकअर्कालाई सधैँ साथ दिने भावनाको कथा भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्