राष्ट्रिय युवा संघद्वारा केन्द्रदेखि बुथसम्म निर्वाचन परिचालन कमाण्ड गठन


काठमाडाैँ । नेकपा (एमाले) निकट युवासंघ राष्ट्रिय युवा संघ, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड गठन गर्ने निर्णय गरेको छ।

संघले केन्द्रदेखि बुथ तहसम्म संगठनात्मक संरचना विस्तार गर्दै निर्वाचन परिचालनलाई प्रभावकारी बनाउने तयारी थालेको हो।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले केन्द्रीय तहमा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमाण्ड गठन गरिएको जानकारी दिएको छ।

संगठनका अध्यक्ष माहाराज गुरुङको नेतृत्वमा रहने उक्त कमाण्डले देशभर निर्वाचन परिचालन कार्यलाई समन्वय र नेतृत्व गर्ने बताइएको छ।

अध्यक्ष गुरुङका अनुसार प्रदेशस्तरमा निर्वाचन परिचालन कमाण्डको संयोजन र नेतृत्व गर्न पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ।

साथै, १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एमालेको पक्षमा जनमत बढाउने उद्देश्यसहित निर्वाचन परिचालन कमाण्ड गठन गर्ने निर्णय गरिएको छ।

उहाँले आम मतदाताको सुरक्षालाई समेत ध्यानमा राखेर सबै निर्वाचन क्षेत्रमा कमाण्ड बनाइएको स्पष्ट पार्नुभयो। प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत गठन हुने कमाण्डमा संगठनद्वारा तोकिएका केन्द्रीय सदस्यको नेतृत्व रहनेछ।

साथै, ती कमाण्डमा सम्बन्धित निर्वाचन क्षेत्रभित्र रहेका संगठनका केन्द्रीय निकाय, केन्द्रीय विभागका सदस्यहरू तथा प्रदेश, जिल्ला, पालिका, वडा र टोल कमिटीका पदाधिकारी तथा सदस्यहरू समेटिने निर्णय गरिएको छ।

बैठकले प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डअन्तर्गत ६ हजार ७ सय ४३ वटै वडामा वडा कमाण्डर र १० हजार ९ सय ६७ वटै बुथमा बुथ कमाण्डर तोक्ने निर्णय पनि गरेको छ।

संघले सबै बुथको संरक्षण र व्यवस्थापनका लागि आवश्यक भूमिका निर्वाह गर्ने गरी कमाण्डरहरू परिचालन गरिने जनाएको छ।

निर्वाचनलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ संगठनले केन्द्रदेखि स्थानीय तहसम्म सुदृढ परिचालन संरचना निर्माण गरिएको संघको भनाइ छ।