बागमती विश्वविद्यालयले सुरु गर्‍यो बिमा र जोखिम व्यवस्थापनमा स्नातकोत्तरको पढाई


काठमाडौं । बागमती प्रदेश विश्वविद्यालयले स्नातकोत्तर तहमा जोखिम तथा बीमा व्यवस्थापन विषयको अध्यापन शुरू गरेको छ । काठमाडौँको कुलेश्वरमा रहेको जनमैत्री क्याम्पसले भर्ना खुलाएको छ ।

विश्वविद्यालयका अनुसार, यो शैक्षिक कार्यक्रम जोखिम व्यवस्थापन, बीमा, पुनर्बीमा, बीमांकिक आधार, डेटा विश्लेषण, र नियामक ढाँचामा उच्च दक्ष पेशेवरहरू विकास गर्न डिजाइन गरिएको चार–सेमेस्टर स्नातक कार्यक्रम हो ।

कार्यक्रमले व्यावहारिक पाठ्यक्रमहरू, औद्योगिक र शैक्षिक भ्रमणहरू, छ–महिनाको इन्टर्नसिप, र मास्टरको थेसिस मार्फत सिद्धान्तलाई व्यवहारिक ज्ञानसँग जोड्नेछ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पुरा गरेको हुनुपर्छ। सेमेस्टर प्रणाली अन्तर्गत न्यूनतम जिपिए २.०, वा वार्षिक प्रणाली अन्तर्गत न्यूनतम ४५ प्रतिशत अंक ल्याएर उतीर्ण भएको हुनुपर्ने छ ।

न्यूनतम शैक्षिक योग्यता पुरा नगरेको भएपनि बैंकिङ, वित्त, बीमा क्षेत्र वा अन्य कुनै पनि सान्दर्भिक क्षेत्रमा कम्तिमा दुई वर्षको सान्दर्भिक व्यवसायिक अनुभव भएको अवस्थामा भर्नाका लागि अवसर दिन सकिने विश्वविद्यालयले जनाएको छ ।

आवेदन दिने अन्तिम मिति १८ फेब्रुअरी २०२६ अर्थात् फागुन ६ गतेसम्म तोकिएको छ । पढ्न चाहनेले विश्वविद्यालयको वेबसाइटबाट अनलाइन आवेदन फारम भर्न सक्छन् ।