काठमाडाैँ । आजदेखि देशका विभिन्न भू–भागमा बादल, वर्षा, हिमपात र हुस्सुको प्रभाव देखिने मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभाव रहने सम्भावना छ।
आज (मंगलबार) दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम खालको हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
साथै ती प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।
तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना कायमै छ।
भोलि (बुधबार) दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने बताइएको छ।
बुधबार राति तराईका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ।
यसैगरी बिहीबार दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ भने पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
बिहीबार राति पनि तराईका केही स्थानमा हुस्सु रहने र पहाडी तथा हिमाली भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्