काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतसँग नयाँ व्यापार सम्झौता सम्पन्न भएको घोषणा गरेका छन् ।
उक्त सम्झौताअनुसार संयुक्त राज्य अमेरिकाले भारतमाथि लगाउँदै आएको २५ प्रतिशतको तथाकथित ‘पारस्परिक भन्सार महसुल’ घटाएर १८ प्रतिशतमा झार्ने भएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको मित्रता र पारस्परिक सम्मानका आधारमा यस्तो निर्णय लिइएको उल्लेख गरेका छन्।
सम्झौताका सर्तअनुसार भारतले पनि अमेरिकाविरुद्ध लागू गर्दै आएका सबै भन्सार तथा गैर–भन्सार अवरोधहरू शून्यमा झार्ने सहमति जनाएको छ।
यसैगरी, प्रधानमन्त्री मोदीले ‘बाइ अमेरिकन’ नीतिप्रति प्रतिबद्धता जनाउँदै ऊर्जा, प्रविधि, कृषि, कोइला लगायतका क्षेत्रमा ५०० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी उत्पादनहरू खरिद गर्ने सहमति गरेको ट्रम्पले बताए ।
सम्झौताअनुसार भारतले रुसी तेल खरिद बन्द गर्ने र त्यसको सट्टा अमेरिका तथा सम्भावित रूपमा भेनेजुएलाबाट तेल आयात गर्ने सहमति गरेको पनि ट्रम्पको दाबी छ। यसअघि भारतले रुसी तेल खरिद गरेको विषयलाई लिएर अमेरिकाले अतिरिक्त २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो।
नयाँ सम्झौताले दुई देशबिचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ भने अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत यसको प्रभाव पर्ने विश्लेषण गरिएको छ।


प्रतिक्रिया दिनुहोस्