काठमाडाैँ । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेका छन्।
न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले आगामी निर्वाचनका क्रममा सार्वजनिक यातायात क्षेत्रको सुधारलाई प्रमुख एजेन्डा बनाउनुपर्नेमा जोड दिए । उनले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राख्ने राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
महासंघले सार्वजनिक यातायात क्षेत्रको समग्र सुधार हुने गरी चुनावी घोषणा पत्र ल्याउन दबाब दिन देशभरका यातायात व्यवसायी र मजदुरहरूलाई अपिल गरेको छ।
वरिष्ठ उपाध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने विषयमा राजनीतिक दलहरूले आवश्यक ध्यान नदिए आसन्न निर्वाचनमा त्यसको प्रतिकूल असर पर्न सक्ने चेतावनी पनि दिए ।
उनले भने, “सबै राजनीतिक दलहरूले यस पटक सार्वजनिक यातायात क्षेत्रलाई अत्यन्त प्राथमिकताका साथ राखून् भन्ने मेरो अनुरोध छ। यातायात क्षेत्रमा आबद्ध देशभरका साथीहरूले पनि उम्मेदवारहरूलाई चुनावी घोषणा पत्रमा यातायात क्षेत्रलाई कसरी प्राथमिकतामा राखिएको छ भन्ने प्रश्न गर्नुपर्छ। जुन राजनीतिक दलले कार्यान्वयनयोग्य र व्यवहारिक घोषणा पत्र ल्याउँछ, हामी त्यही दललाई निर्वाचनमा सहयोग गर्नेछौँ।”
महासंघले यातायातका साधनहरूको आयातलाई सहजीकरण गर्ने नीतिगत योजना पनि निर्वाचन घोषणा पत्रमै स्पष्ट रूपमा समेट्न राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया दिनुहोस्