काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा १० खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को १० खर्ब ६२ अर्ब ९३ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको हो । छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । २०८२ पुस महिनामा विप्रेषण आप्रवाह एक खर्ब ९२ अर्ब ६२ करोड रूपैयाँ रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब २२ अर्ब ४४ करोड रूपैयाँ रहेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रूपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ९४ हजार ७३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ३० हजार ४३९ र एक लाख ६२ हजार ६२८ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्