दाङमा ४ अर्ब लगानीको ३०० शय्याको सन्जीवनी शिक्षण अस्पताल माघ मसान्तदेखि सञ्चालनमा आउने


काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–३ भानपुरमा करिब ४ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको ३०० शय्याको शिक्षण अस्पताल माघ मसान्तदेखि सञ्चालनमा आउने भएको छ।

सन्जीवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सकसहित सेवा दिन तयारी अवस्थामा पुगेको अस्पताल व्यवस्थापनले जनाएको छ।

अस्पतालका अनुसार माघ मसान्तबाट सेवा सुरू गर्ने लक्ष्यसहित प्राविधिक, प्रशासनिक तथा मानव संसाधनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३०० शय्याको स्वीकृति प्राप्त गरेको यस अस्पताल आफ्नै स्वामित्वको पाँच विगाहा क्षेत्रफलमा फैलिएको छ। अस्पताल परिसरभित्र नौ वटा अत्याधुनिक भवन निर्माण गरिएको छ। व्यवस्थापनले भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने दीर्घकालीन योजनाअनुसार भौतिक संरचना निर्माण गरिएको जनाएको छ।

हाल ३०० शय्याबाट सेवा सुरु गरिने भए पनि तीन वर्षपछि अस्पताललाई ५०० शय्यामा स्तरोन्नति गर्दै मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी गरिएको छ।

माघ मसान्तदेखि अस्पतालले जनरल फिजिसियन, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, मानसिक रोग, छाला रोग, बालरोग, ग्यास्ट्रोइन्टेरोलोजी, मुटुरोग, कान–नाक–घाँटी, दन्त तथा नेत्र रोगलगायतका विशेषज्ञ सेवा प्रदान गर्नेछ। साथै मिर्गौला डायलाइसिस, फिजियोथेरापी जस्ता सेवासमेत उपलब्ध गराइने अस्पतालले जनाएको छ।

अस्पतालमा सिटी स्क्यान, एमआरआई, डिजिटल एक्स–रे, मेमोग्राफी, अल्ट्रासाउण्ड, इसिजी, इकोकार्डियोग्राफी, इन्डोस्कोपी तथा कोलोनोस्कोपी जस्ता आधुनिक उपकरण जडान भइसकेका छन्। साथै ७० शय्याको आईसीयु, १४ वटा अपरेशन थियटर तथा क्याथ ल्याब सेवा सञ्चालनका लागि आवश्यक उपकरण पनि सेटअप भइसकेको व्यवस्थापनको दाबी छ।

हाल अस्पतालमा ३२ जना विशेषज्ञ चिकित्सकसहित ७० भन्दा बढी चिकित्सक, ११० जना नर्स तथा अन्य कर्मचारी गरी करिब ३५० जनाले काम सुरु गरिसकेका छन्।