यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारद्वारा समन्वय समिति गठन गर्ने निर्णय


काठमाडाैँ । सरकारले यातायात क्षेत्रमा देखिएका समस्या र नागरिकबाट बारम्बार आइरहेका गुनासोहरू सम्बोधन गर्न समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारी, यातायात व्यवस्था विभाग तथा मन्त्रालयका सचिव केशवकुमार शर्माबिच भएको छलफलपछि यस्तो निर्णय गरिएको हो।

छलफलमा ट्राफिक सिग्नल, सडक किनारका सङ्केत चिन्ह, ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीलगायत यातायातसँग सम्बन्धित विविध विषयमा विस्तृत रूपमा छलफल भएको थियो।

यातायात क्षेत्रमा बारम्बार जनगुनासो आउने गरेको भन्दै त्यसको प्रभावकारी व्यवस्थापनका लागि समन्वय समिति आवश्यक देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले जानकारी दिए।

मन्त्री चौलागाईंले यातायात व्यवस्थापनसँग सम्बन्धित विषयहरू बहुआयामिक भएकाले एकल निकायबाट मात्रै समाधान सम्भव नहुने उल्लेख गरे। विभिन्न निकायबीचको समन्वयको अभावले समस्या झनै जटिल बन्दै गएको उनको भनाइ थियो।

उनका अनुसार समन्वय समिति तत्कालै गठन गरिनेछ र समितिले नियमित बैठकमार्फत आएका जनगुनासोहरू छिटो समाधान गर्नेछ।

“ट्राफिक सिग्नल, रोड साइड सिम्बोल लगायत यातायातसँग सम्बन्धित धेरै विषयमा हामीले पटक–पटक जनगुनासो सामना गर्दै आएका छौँ,” मन्त्री चौलागाईंले भने, “छलफलका क्रममा विभिन्न पक्षबीच समन्वयको कमी मुख्य समस्या रहेको निष्कर्षमा पुग्यौँ। त्यसैले बहुपक्षीय समन्वय आवश्यक छ भन्ने ठहरसहित समन्वय समिति गठन गर्ने निर्णय गरेका हौँ।”

उनले ट्राफिक प्रहरीको तर्फबाट सचेतना अभिवृद्धि र सहजीकरणका लागि कार्यशाला (वर्कसप) सञ्चालन गर्ने प्रस्ताव आएको र त्यसमा मन्त्रालयको सहभागिता रहने पनि स्पष्ट पारे। साथै बैठकमा केही नीतिगत सुधारका विषयमा समेत छलफल अघि बढाइएको उनले जानकारी दिए ।

मन्त्री चौलागाईंले ट्राफिक प्रहरीले यातायात व्यवस्थापनमा सचेतना र सहजीकरणका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको बताए ।