रवि लामिछानेले भनेः अब कुनै घटना हुने छैन, इतिहास लेख्ने बेला आयो


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वास्थ्य उपचारपछि सार्वजनिक जीवनमा पुनः फर्किएको घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै उनले आफ्नो पुनरागमन सामान्य नभइ सङ्कल्प, प्रतिवद्धता र देश परिवर्तनको दृढ इच्छासहित भएको बताएका छन्।

सामान्य चोटलाई बेवास्ता गर्दा सङ्क्रमण भई केही दिन अस्पतालमा बस्नुपरेको उल्लेख गर्दै लामिछानेले अहिले स्वास्थ्यमा सुधार आएको र आवश्यक आरामपछि सक्रिय राजनीतिमा फर्किएको बताएका छन्। उनले अब देशमा हुने घटनाहरू दोहोरिने नभई इतिहास बन्ने दाबी गर्दै त्यो इतिहास नेपाली जनताले आफ्नै मतपत्रमार्फत लेख्ने बताएका छन्।

लामिछानेले आफू सिंहदरबार पुग्न नभई सिंहदरबार बदल्नका लागि राजनीतिमा रहेको स्पष्ट पार्दै ‘घण्टीमा भोट’मार्फत कुशासनविरुद्ध निर्णायक लडाइँ लडिने बताएका छन्। दलका नेतृत्वले राज्यका हरेक संरचनामा फैलाएको विष अब जनताको मतबाट निकालिने उनको भनाइ छ।

परम्परागत दलमाथि टिप्पणी गर्दै उनले एकाध पुल, भवन र सडकका तस्वीर देखाएर गरिने ‘कस्मेटिक सुधार’मा आफ्नो कुनै रुचि नरहेको बताएका छन्। कुशासनको केन्द्र बनेको सिंहदरबारबाटै ‘निलो क्रान्ति’ सुरु गर्न स्पष्ट जनम्याण्डेट आवश्यक रहेको उनको भनाइ छ।

वर्षौंदेखि रोपिएको अस्थिरताको बीउ अहिले ठूलो वृक्ष बनेको उल्लेख गर्दै लामिछानेले त्यसको जरो नउखेली देशमा वास्तविक परिवर्तन सम्भव नहुने बताएका छन्। व्यक्तिगत रूपमा आफू कहाँ पुग्छु र इतिहासमा आफ्नो नाम कसरी लेखिन्छ भन्ने विषयमा आफूलाई कुनै सरोकार नरहेको उनको भनाइ छ।

रास्वपामाथि विचार, नीति र सिद्धान्त नभएको आरोप लगाइँदै आएकोप्रति प्रतिक्रिया दिँदै उनले पार्टीका दस्तावेजहरू सबैभन्दा स्पष्ट रहेको दाबी गरेका छन्। लोकतन्त्र जोगाउने जिम्मेवारी आफूहरूले लिने र नसके जनता स्वयं सक्षम रहेको उनको भनाइ छ।

देश केही सीमित बिचौलियाको कब्जामा परेको आरोप लगाउँदै उनले अब निर्णायक चरण सुरु भएको बताएका छन्। अझै पनि मिल्न चाहनेहरूलाई खुला वा गोप्य जुनसुकै गठबन्धन गर्न चुनौती दिँदै उनले मत परिणाम स्वीकार गर्ने तर जनविद्रोहबाट हटाइसकेको पुरानो संसद षड्यन्त्रपूर्वक फर्काउने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्।

फागुन २१ लाई नेपाली राजनीतिक इतिहासको ‘माइलस्टोन’को रूपमा उल्लेख गर्दै उनले त्यसपछि बन्ने संसदमा प्रतिपक्षीसमेत नयाँ हुनुपर्ने धारणा व्यक्त गरेका छन्। वर्षौंसम्म देश लुटेर बनेको आपराधिक गिरोहबाट नेपाललाई मुक्त गर्ने दाबी गर्दै उनले देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा रहेको बताएका छन्।