काठमाडाैँ । बाजुरा जिल्लाबाट अछामको बाबला क्षेत्रमा चराउन ल्याइएका भेडामा अज्ञात रोग फैलिँदा भएको क्षतिको कारण खुलेको छ। धनगढी भेटेरिनरी प्रयोगशालामा परीक्षण गरिएका नमुनाको नतिजाअनुसार भेडा मर्नुको कारण ‘एन्टेरोटोक्सिमिया’ रोग भएको पुष्टि भएको हो।
बाजुराबाट अछामको बाबला भन्ने स्थानमा चराउन आएका तीन जना किसानका भेडामा रोग देखिँदा हालसम्म ३६ ओटा भेडा मरेका छन्।
जसमध्ये रवि सिंहका २० ओटा , दसरथ महतारका ९ ओटा र धनबहादुर बुढाका ७ ओटा भेडा मरेको किसानहरूले बताएका छन्। करिब ३०० ओटा भेडाको बथानमा रोग फैलिएको भए पनि सुरुमा कारण पत्ता लाग्न सकेको थिएन।
धनगढी भेटेरिनरी ल्याबका डा. नरेश जोशीका अनुसार केही दिनअघि लिइएको स्याम्पल परीक्षण गर्दा भेडा मर्नुको कारण एन्टेरोटोक्सिमिया पुष्टि भएको हो।
उनका अनुसार यो रोग क्लोस्ट्रिडियम पर्फ्रिन्जेन्स नामक ब्याक्टेरिया (टाइप सी वा डि) का कारण हुने गर्दछ। यो रोग लागेपछि भेडामा अचानक कमजोरी देखिने, खान नमान्ने र छोटो समयमै मृत्यु हुने सम्भावना बढी रहने उनले बताए।
किसानका अनुसार केही भेडामा रोगका लक्षण देखिएको २ देखि ३ दिनभित्रै भेडा मर्ने गरेका छन्। रोग देखिएपछि भेटेरिनरी चिकित्सकसँग सल्लाह लिएर औषधि उपचार गरे पनि भेडा मर्ने क्रम नरोकिएको किसान रवि सिंहले बताए।
उनका अनुसार गत पुस १५ गतेदेखि नै भेडा चराउने क्रममा मर्न थालेका थिए। सुरुमा सामान्य समस्या होला भनेर खासै वास्ता नगरेको भए पनि भेडा लगातार मर्न थालेपछि अवस्था भयावह बनेको उनले बताए। “डाक्टरसँग सल्लाह र औषधि गर्दा पनि भेडा बचेनन्,” उनले भने।
गत वर्ष पनि यही किसानका भेडा सोही क्षेत्रमा मरेको बताउँदै उनले समस्या दोहोरिनुले आफूहरू झनै चिन्तित बनेको उल्लेख गरे। भेडाको कुनै पनि किसिमको बिमा नगरेका कारण हाल भएको क्षतिको क्षतिपूर्ति पाउने विषयमा अन्योल रहेको किसानहरूको गुनासो छ।
किसानहरूले सम्बन्धित निकायले समयमै रोगको जोखिमबारे जानकारी, रोकथामका उपाय र क्षतिग्रस्त किसानलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्