निरन्तर र पर्याप्त एलपी ग्यास आपूर्ति हुँदैछ, अनावश्यक स्टक नगर्न आयल निगमको आग्रह


काठमाडाैँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले एलपी ग्यासको आपूर्ति नियमित र पर्याप्त रहेको स्पष्ट पारेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेसन (आइओसी) बाट उल्लेखनीय मात्रामा एलपी ग्यास लोडिङ भएको बताएका हुन्।

भट्टका अनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट अर्थात् १ लाख १४ हजार सिलिन्डर एलपी ग्यास आवश्यक पर्छ। तर पछिल्ला दिनमा आवश्यकताभन्दा बढी ग्यास लोडिङ भएको उनले उल्लेख गरेका छन्।

शनिबार ११८ बुलेट (१ लाख ४९ हजार ५०० सिलिन्डर), सोमबार ११५ बुलेट (१ लाख ४५ हजार ७०० सिलिन्डर) र मंगलबार १३२ बुलेट (१ लाख ६७ हजार ३०० सिलिन्डर) एलपी ग्यास लोडिङ भएको जानकारी उनले दिएका छन्।

उनका अनुसार तीमध्ये केही बुलेटहरू हाल बाटोमै रहेका छन् भने केहीले अझै नेपाल प्रवेश गर्ने तयारीमा छन्। यस्तो अवस्थामा एलपी ग्यासको अभाव हुने कुनै कारण नरहेको भन्दै उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेका छन्।

कार्यकारी निर्देशक भट्टले निर्वाचनको अवधिभर पनि यही ढंगले निरन्तर ग्यास आपूर्ति हुने स्पष्ट पार्दै उपभोक्तालाई ढुक्क हुन अनुरोध गरेका छन्। आपूर्ति प्रणाली सहज रहेकाले बजारमा कुनै किसिमको कृत्रिम अभाव नआउने उनको दाबी छ।