स्वास्थ्य बिमामा देखिएको स्रोतको समस्या तत्काल समाधान हुन्छः प्रधानमन्त्री कार्की


काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाको स्रोत सम्बन्धि समस्या तत्काल समाधान गर्ने बताएकी छिन् ।

बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाई नगर्ने बताइन् ।

उनले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि उल्लेख गरिन् । गरिव वर्गलाई, अपांग, अशक्तलाई लगायतका कमजोर मानिसहरुका लागि सो कार्यक्रम भएकाले उनीहरुको हित हुनेगरी सो कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भएपनि स्वास्थ्य बिमाका लागि आवश्यक  बजेटको व्यवस्था गर्नें पनि बताइन् । जनताले प्रिमियर तिर्ने तर सरकारले उनीहरुका लागि बजेटको व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन नसक्ने पनि प्रधानमन्त्री कार्कीको भनाइ थियो । 

प्रधानमन्त्री कार्कीले सो कार्यक्रमलाई एकद्वार प्रणालीबाट अघि बढाउने गरी स्वास्थ्य मन्त्रालयले नीतिगत र कानूनी व्यवस्था तय गर्न लागेको पनि बताइन् ।