काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले देशभरका ७ सय ४९ स्थानीय तहमा फोर–जी सेवाको पहुँच विस्तार भइसकेको बताएकी छन् । यसबाट डिजिटल डिभाइड न्यूनिकरणमा उल्लेखनीय प्रगति हासिल भएको उनको भनाइ छ ।
बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव समारोहमा बोल्दै टेलिकम सञ्चालक समितिकी अध्यक्षसमेत रहनुभएकी सचिव बस्नेतले प्रविधि र अनुसन्धानलाई आत्मसात् गर्दै टेलिकमले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको बताइन् ।
विश्वव्यापी रूपमा प्रविधिमा भइरहेको तीव्र परिवर्तनसँगै सेवाग्राहीको माग र अपेक्षा बढ्दै गएको उल्लेख गर्दै उनले त्यसअनुसार सेवा विस्तार र गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् ।
उनका अनुसार प्रायः सबै शहर तथा गाउँमा ‘फाइबर टु द होम’ सेवा विस्तार भएसँगै उच्च गतिको ब्रोडब्यान्ड सेवा सर्वसाधारणको पहुँचमा पुगेको छ ।
देशको प्रमुख दूरसञ्चार सेवा प्रदायकका रूपमा टेलिकमले कनेक्टिभिटी सुनिश्चित गर्दै टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेशनजस्ता सेवाको विकासमा थप ध्यान दिन आवश्यक रहेको उनले बताइन् ।
विशेषगरी दुर्गम क्षेत्रमा ई–डिजिटल सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण अपरिहार्य रहेको सचिव बस्नेतको भनाइ छ । यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै मुलुकको डिजिटलाइजेसन अभियानलाई थप गति दिने उनले उल्लेख गरिन् ।
टेलिकमले सेवाको गुणस्तर र सर्वसुलभता अझै वृद्धि गर्नुपर्नेमा जोड दिँदै उनले प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाइन दुवै प्रकारका दूरसञ्चार सेवाको पहुँच पुर्याउनुपर्ने आवश्यकता औँल्याइन् । यसका लागि मन्त्रालयले ग्रामीण दूरसञ्चार विकास कोष, पहिचानलगायत अन्य कार्यक्रममार्फत आवश्यक सहजीकरण गर्दै आएको उनले जानकारी दिए ।टेलिकममा कार्यरत कर्मचारीहरूको वृत्तिविकास र अन्य मागहरू सम्बोधन गर्न मन्त्रालय तयार रहेको पनि सचिव बस्नेतले स्पष्ट पारिन् ।


प्रतिक्रिया दिनुहोस्