काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमको हालको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन सुधार्न निर्देशन दिएका छन् ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले हालको कार्यशैलीले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न नसक्ने बताएका हुन् ।
उनले टेलिकमले अहिले गरिरहेको कामबाट पर्याप्त राजस्व संकलन हुन नसकेको उल्लेख गर्दै खर्चको तुलनामा आम्दानी निकै कमजोर रहेको धारणा राखे ।
अध्यक्ष भण्डारीका अनुसार टेलिकमले दीर्घकालीन योजना बनाएर काम गर्न जरुरी छ। “अहिले जसरी काम भइरहेको छ, त्यसले लामो समयसम्म टिकाउ हुन सक्दैन,”उनले भने, “ब्यान्डविथसहित विभिन्न क्षेत्रमा ठूलो खर्च भइरहेको देखिन्छ। यस्तो खर्च घटाउन सकिन्छ। यदि राजस्व बढाउन सकिँदैन भने खर्च नियन्त्रण गर्नु अनिवार्य छ।”
उनले खर्च घटाउने उपायका विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक परे सल्लाह दिन तयार रहेको पनि स्पष्ट पारे।
त्यसैगरी, अध्यक्ष भण्डारीले दूरसञ्चार प्राधिकरण ऐन ल्याउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरिसकिएको जानकारी दिँदै नयाँ संसदबाट छिट्टै ऐन जारी हुनसक्ने बताए ।
कार्यक्रममा अध्यक्ष भण्डारीले नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि सहुलियत दिइए पनि परीक्षणपछि अपेक्षित प्रगति हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्