काठमाडाैँ । वारागुङ मुक्तिक्षेत्रअन्तर्गत सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक सुरू भएको छ। नेपाल स्की सङ्घको आयोजनामा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सञ्चालन हुने भएको हो।
स्की खेलको विकास, प्रवर्द्धन तथा हिमाली पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्की सङ्घले सन् २०१६ देखि राष्ट्रियस्तरको स्की प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रतियोगिताको पहिलो संस्करण रसुवाको क्यान्जेन भ्यालीमा सम्पन्न भएको थियो भने त्यसपछि सबै संस्करणहरू मुस्ताङको मुक्तिनाथ क्षेत्रमै आयोजना हुँदै आएका छन्। यसअघि सन् २०१९, २०२० र २०२२ मा मुक्तिनाथमा सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएका थिए।
आयोजकका अनुसार मौसमको अवस्था हेरेर प्रतियोगिताको अन्तिम तालिका तय गरिनेछ। यस पटकको प्रतियोगितामा १४ पुरुष र १० महिला खेलाडी सहभागी हुनेछन्। मुस्ताङबाट नेपाली सेनाका केही खेलाडीहरू पनि प्रतियोगितामा सहभागी हुने नेपाल स्की सङ्घले जनाएको छ।
सिनियर प्रशिक्षक स्वराज श्रेष्ठको नेतृत्वमा सहायक प्रशिक्षकहरू दिनेश बोहरा, समिप लामिछाने, लक्ष्मी राई, आयुसी महर्जन तथा शारीरिक प्रशिक्षक विमान्थ अधिकारीले खेलाडीहरूलाई प्रशिक्षण दिनेछन्।
प्रतियोगितामा अल्पाइन स्कीअन्तर्गत स्लालोम र जायन्ट स्लालोम विधा समावेश गरिएको छ। विजेता खेलाडीहरूलाई स्वर्ण, रजत तथा कास्य पदक प्रदान गरिनेछ।
सन् २०२२ पछि आयोजना हुन नसकेको यो प्रतियोगिता यस वर्ष मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भएपछि सम्भव भएको हो। नेपालमा कृत्रिम हिउँको व्यवस्था नभएकाले प्राकृतिक हिउँ परेको मौसममा मात्र स्की प्रतियोगिता सञ्चालन गर्न सकिने सङ्घले जनाएको छ।
प्रशिक्षक स्वराज श्रेष्ठले अहिले भइरहेको अभ्यासले भविष्यमा ओलम्पिकलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहज हुने बताए । उनका अनुसार दुई दिनको प्रशिक्षण र एक दिनको प्रतियोगिता सञ्चालन भइरहेको छ। “सानै उमेरदेखि स्की खेल सिकाएमा भविष्यमा ठूलो प्रतियोगितामा सहभागी हुन सहज हुन्छ। यसले सन्तुलन कायम गर्न पनि सहयोग गर्छ,” उनले भने। हाल १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई स्की प्रशिक्षण दिइरहेको उनको भनाइ छ।
त्यस्तै नेपाल स्की सङ्घका सदस्य अर्जुन महर्जनले सडक पूर्वाधार सुधार भए स्की प्रशिक्षणका लागि प्रशिक्षार्थीहरू लैजान अझ सहज हुने बताए ।उनले भने, “सडक राम्रो भए एक दिनमै पुग्न सकिन्छ। स्की सङ्घ हिउँ बिना सम्भव छैन। हिउँ परेको समयमा हामी त्यहीँ रमाएर अभ्यास र प्रतियोगिता गर्छौँ। कहिले सात–आठ दिनसम्म हुन्छ, कहिले एक–दुई दिनमै सीमित हुन्छ।”
मुक्तिनाथ क्षेत्रमा स्की प्रतियोगिताको रौनक सुरु भएसँगै पर्यटक तथा स्थानीयवासीमा उत्साह देखिएको छ। यसले बेमौसम पर्यटन प्रवर्द्धन गर्दै हिउँदयाममा हुने पर्यटन घाटा कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरोकारवालाहरूले यस्ता साहसिक खेलकुद गतिविधिलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस्