रौतहटमा चुनावी सवारीको ठक्करबाट बालिकाको मृत्यु, रास्वपाद्वारा छानबिन र सहयोगको प्रतिबद्धता


काठमाडाैँ । रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गरेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेकाे विज्ञप्तिमा रास्वपाले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी पीडित परिवारलाई न्याय दिलाउने विषयमा पार्टीले कुनै कसर बाँकी नराख्ने पनि विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, पीडित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने विषयमा पार्टीका तर्फबाट पहल भइरहेको जानकारी दिइएको छ।

भविष्यमा यस्ता दुःखद घटनाहरू दोहोरिन नदिन चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनको परिचालनमा उच्च सतर्कता अपनाउन पार्टीपंक्ति, उम्मेदवार तथा सवारी चालकहरूलाई निर्देशन जारी गरिएको पनि रास्वपाले जनाएको छ