काठमाडाैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएका छन्। गत माघ २२ गते प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज नियुक्ति पत्रमार्फत उनलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा स्नातक (बीई) अध्ययन गरेकी छन्। उनी २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५२ जेठ ९ गते स्थायी नियुक्ति लिएकी थिइन् ।
उनी २०८० जेठ ३२ गतेदेखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशकको रूपमा कार्यरत रहेकी थिइन् । यस अवधिमा उनले प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौं तथा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत सफलतापूर्वक पूरा गरेकी छन् । नियुक्तिअघि उनी प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन् ।
पदभार ग्रहण गर्दै निमित्त प्रबन्ध निर्देशक डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि आभार व्यक्त गरेकी छन् । उनले ग्राहकको चाहना र सरकारको प्राथमिकतालाई ध्यानमा राख्दै कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्।
साथै, कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने उनको धारणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्