काठमाडाैँ । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुक र समर्थकबाट स्वेच्छिक सहयोग लिन सक्ने स्पष्ट पारेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको दायराभित्र रहेर निर्वाचन प्रचार–प्रसारका लागि सहयोग सङ्कलन गर्न कुनै बाधा नरहेको बताए ।
प्रवक्ता भट्टराईका अनुसार उम्मेदवार वा राजनीतिक दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन्। उनले उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने स्पष्ट पारे।
स्वेच्छाले सहयोग गर्न चाहने शुभेच्छुक तथा समर्थकले उम्मेदवार वा दलले निर्वाचनका लागि खोलेको खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था कानुनले गरेको उनको भनाइ छ। त्यसरी सङ्कलित रकम निर्वाचन प्रचार–प्रसारकै प्रयोजनका लागि मात्र प्रयोग हुनुपर्ने र दुरुपयोग भएको पाइएमा आवश्यक कारबाही हुने उनले बताए ।
यसैबिच निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक मतपत्र छपाई कार्यलाई तीव्रता दिएको छ। प्रवक्ता भट्टराईका अनुसार हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाई भइसकेको छ। छपाई भएका मतपत्रमध्ये ७ हजार १३७ वटा बाकसमा प्याकिङ कार्य समेत सम्पन्न भइसकेको आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म ३२ जिल्लाका लागि आवश्यक मतपत्रको छपाई र प्याकिङ कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ। बाँकी जिल्लाहरूका लागि आवश्यक मतपत्र छपाई तथा व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको आयोगले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्