काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको योजना बनाउने घोषणा गरेका छन् ।
पछिल्लो समय स्वास्थ्य बिमा कार्यक्रम सङ्कटमा परेको सार्वजनिक भइरहेका बेला सभापति थापाले ‘राष्ट्रिय गौरव’को योजना बनाउने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै थापाले स्वास्थ्य बिमालाई दिगो बनाउने अवधारणा पनि प्रस्तुत गरेका छन् ।
धेरै नागरिकले पैसा नभएकै कारण बिचमै उपचार छाड्नुपरेको स्मरण गर्दै सभापति थापाले गरिबीबाट बल्लतल्ल माथि उठेको परिवार कडा रोग लाग्दा पुनः गरिबीमै भासिने अवस्था रहेको सन्देशमा उल्लेख गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नागरिकले उपचारमा आफ्नो खल्तीबाट बढीमा २० प्रतिशत मात्र खर्च गर्नुपर्ने भए पनि नेपालमा यो दर ५७ प्रतिशतभन्दा माथि रहेको तथ्याङ्क थापाको छ । यो तथ्याङ्कले स्वास्थ्य क्षेत्रमा राज्यले आफ्नो भूमिका सही रूपमा निर्वाह गर्न नसकेको प्रस्ट हुने उनको भनाइ छ ।
सभापति थापाले आफू स्वास्थ्यमन्त्री हुँदास्वास्थ्य बिमा ऐन बनेको र कार्यक्रम सुरु भएको भए पनि पछिल्लो समय यो कार्यक्रम अस्तव्यस्त बनेकोमा चिन्ता व्यक्त गरे । स्वास्थ्य कार्यक्रम बन्द नै हुने हो कि भन्ने अवस्थामा पुगेको भन्दै सभापति थापाले यसलाई ट्रयाकमा ल्याउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
कांग्रेसको सङ्कल्प पत्रमा स्वास्थ्य बिमालाई व्यवस्थित बनाउने विस्तृत योजना समेटिने जानकारी सभापति थापाले दिएका छन् । थापाले स्वास्थ्य बिमा सुधारका लागि आधार पनि प्रस्तुत गरेका छन् ।
उनले पहिलो आधारका रूपमो ‘विश्वव्यापी पहुँच’ (युनिभर्सल कभरेज) लाई प्रस्तुत गरेका छन् । त्यस्तै अनौपचारिक क्षेत्रलाई समेट्दै प्रत्येक नेपालीको अनिवार्य बिमा गरिने र प्रिमियम तिर्न नसक्ने अति विपन्न, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जिम्मा राज्यले लिने उल्लेख गरेका छन् । यसका लागि रक्सी, चुरोटजस्ता वस्तुमा विशेष कर लगाएर सो रकम सिधै स्वास्थ्य बिमा कोषमा जाने व्यवस्था मिलाइने उनको योजना छ ।
दोस्रो,सुधारको आधारका रूपमा सभापति थापाले स्वास्थ्य र सामाजिक सुरक्षाका छरिएर रहेका कार्यक्रमलाई एकीकरण गर्ने बताएका छन् । तेस्रो, सङ्घीयता अनुरूप तीनै तहका सरकार र निजी क्षेत्रको भूमिका स्पष्ट पार्दै स्वास्थ्य प्रणालीलाई सुदृढ गरिने उल्लेख छ ।
चौथो तथा महत्वपूर्ण पक्षका रूपमा सुशासनलाई जोड दिँदै उनले डिजिटल प्रणालीमार्फत दाबी भुक्तानीलाई छिटो र पारदर्शी बनाउने, दोहोरोपन हटाउने र बोर्डलाई शक्तिशाली बनाउने योजना अघि सारेका छन् ।
थापाले आगामी ५ वर्षभित्र स्वास्थ्य बीमालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने चरणबद्ध योजना समेत सार्वजनिक गरेका छन् ।
अब नयाँ सरकार बनेको पहिलो चरणमा अहिलेको अस्तव्यस्तता हटाइने र दोस्रो चरणमा बिमाको दायरा बढाइनेछ ।
उनले भने,“तेस्रो चरण अर्थात् पाँचौँ वर्षसम्म पुग्दा निश्चित नकारात्मक सूचीबाहेक सबै उपचार खर्च बिमाले ब्यहोर्ने अवस्था सिर्जना गरिनेछ । यसो हुन सकेमा कुनै पनि नागरिकले पैसाको अभावमा उपचार नपाउने वा उपचारकै कारण घरखेत बेच्नुपर्ने बाध्यता सदाका लागि अन्त्य हुने छ ।”


प्रतिक्रिया दिनुहोस्