वर्षौँको युद्धपछि सुडानको खार्तुममा फूल महोत्सव


काठमाडाैँ । सुडानको राजधानी खार्तुममा वर्षौंको युद्धपछि पहिलो पटक फूल महोत्सव आयोजना गरिएको छ । युद्धले तहसनहस बनाएको शहरमा आयोजित यस महोत्सवले सामान्य जनजीवन फर्किन थालेको सङ्केत दिएको छ ।

नाइल स्ट्रिट नजिकैको मरिना गार्डेनद्वारा आयोजित महोत्सवमा सुडानभरका १५० भन्दा बढी कम्पनी तथा उत्पादकहरू सहभागी छन् ।

उनीहरूले सजावटी फूल, विभिन्न प्रजातिका बिरुवा, फलफूलका रूख तथा भू–दृश्य डिजाइन प्रदर्शन गरेका छन् । आयोजकहरूका अनुसार केही बिरुवाहरू पहिलो पटक सार्वजनिक रूपमा प्रदर्शनीमा राखिएका हुन् ।

प्रदर्शनी स्थललाई हरियो पैदल मार्ग, व्यवस्थित क्यारी र रातो, पहेँलो तथा बैजनी रङ्गका फूलहरूले सजाइएको छ । फूल फुल्ने बिरुवाहरू डालोमा झुण्ड्याइएका छन् भने केहीलाई स्थानीय संस्कृति झल्काउने परम्परागत माटोका भाँडामा राखिएको छ ।

सीमित स्रोतसाधनका बाबजुद आयोजकहरूले प्राकृतिक सौन्दर्य प्रस्तुत गर्दै लचिलोपन र पुनर्निर्माणको सन्देश दिन खोजेको बताएका छन् ।

उनीहरूका अनुसार महोत्सवको उद्देश्य स्थानीय उत्पादकलाई सहयोग गर्नु, हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्नु र सार्वजनिक जनजीवन पुनस्र्थापित गर्नु हो ।

युद्धका कारण पूर्वाधार र दैनिक जनजीवन तहसनहस बनेको खार्तुममा अहिले बिस्तारै आर्थिक र सामाजिक गतिविधि सुरू हुन थालेका छन् । क्षति अझै व्यापक भए पनि महोत्सवको रङ्ग, सुगन्ध र भीडले सामान्य जीवन फर्किन थालेको सानो अनुभूति दिलाएको छ ।