काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन लक्षित गर्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम सुरू गर्ने भएको छ।
आइतबार भएको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गर्न यस कार्यक्रम गर्ने निर्णय गरेको हो।
पार्टीको ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२’ को बुँदा २१ मा यस विषयलाई स्पष्ट उल्लेख गरिएको छ। निर्देशिका अनुसार फागुन १ देखि २१ गतेसम्म पार्टीका सबै सदस्यले ‘जसको पदीय जिम्मेवारी जहाँ र उसले खट्ने त्यहाँ’ नीति अनुसार निर्वाचन क्षेत्रमा खटिनेछन्।
केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रका प्रतिनिधिहरू तोकिएको जिम्मेवारी पूरा गरेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका वा वडामा केन्द्रित हुनेछन्।
यस्तै, तोकिएको जिम्मेवारी बिना अन्यत्र जाने सदस्यहरू आ-आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनेछन्। प्रत्येक वडाका क्रियाशील सदस्यले ‘हाम्रो वडा, हामी जिताउँछौँ’ उद्घोषका साथ आ-आफ्नै वडामा मात्र काम गर्ने पार्टीले जनाएको छ।
कांग्रेसले आफ्ना सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरूलाई पनि यही नीतिअनुसार जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्