काठमाडाैँ । सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तर्गत हाल २० लाख ९ हजार १ सय ६९ जना ज्येष्ठ नागरिक लाभान्वित भइरहेका छन्।
आइतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्रालयकी सचिव राधिका अर्यालले जानकारी दिइन्।
उनका अनुसार, जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन ज्येष्ठ नागरिकका लागि थप विशेष व्यवस्था आवश्यक छ। हाल ७० वर्षभन्दा माथिका १६ लाख ६० हजार ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन्।
त्यस्तै, ६० वर्ष पूरा गरेका १ लाख ६१ हजार दलित ज्येष्ठ नागरिक, १ लाख ७१ हजार एकल महिला र तोकिएको क्षेत्रमा ६० वर्ष पूरा गरेका १७ हजार १६९ जना ज्येष्ठ नागरिक पनि यस कार्यक्रमअन्तर्गत छन्। सबै लाभग्राहीले मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्।
सचिव अर्यालले सार्वजनिक सवारीमा कम्तीमा दुई सिट ज्येष्ठ नागरिकको लागि सुरक्षित गरिएको र यात्रुवाहक भाडामा न्यूनतम ५० प्रतिशत छुट प्रदान गरिएको जानकारी दिइन्।
स्वास्थ्य सेवामा पनि सरकारी, सामुदायिक र निजी अस्पतालमा बहिरंग र अन्तरंग सेवासहित सैया वार्डको व्यवस्था गरिएको छ। उपचार शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ र हाल ७७ जिल्लाका ९४ वटा अस्पतालबाट सेवा उपलब्ध छ।
उनले थपिन्, “७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकका लागि १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध छ। तर सेवा प्रवाहको प्रभावकारिता अझै पूर्ण रुपमा सुनिश्चित गरिएको छैन।”
सरकारले ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि, सेवा प्रवाह प्रभावकारी बनाउन अझै चुनौती रहेको सचिव अर्यालले स्वीकारेकी छिन्।


प्रतिक्रिया दिनुहोस्