ज्येष्ठ नागरिकको सम्मान सुनिश्चित नगर्ने परिवारलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने तयारीमा सरकार


काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापन सुनिश्चित गर्न परिवारबाट कर्तव्य निर्वाह नगर्ने व्यक्तिलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने कानूनी व्यवस्था ल्याउने तयारी गरेको छ।

आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव श्रद्धा श्रेष्ठले यस्तो जानकारी दिइन् ।उनले राष्ट्रिय नीति, ऐन वा नियममार्फत पारिवारिक जिम्मेवारीलाई कानूनी र नीतिगत रूपमा सुनिश्चित गर्न सरकारले योजना बनाइरहेको बताइन् ।

श्रेष्ठले भनिन्, “ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनका लागि परिवारबाटै कर्तव्य निर्वाह हुनुपर्छ। पारिवारिक कर्तव्यबाट पन्छिएकाहरुलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने वा बाध्यकारी व्यवस्था गर्ने विषयलाई सम्बोधन गर्न जरुरी छ। यसको लागि राष्ट्रिय नीति, ऐन वा नियममा समावेश गर्न आवश्यक छ। हामी यसमा प्रयास गरिरहेका छौँ।”

बैठकमा समितिले ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था आवश्यक भएको विषयमा मन्त्रालयसँग छलफल गरेको छ।