काठमाडाैँ । नेपालका ११ जना नर्सरी व्यवसायीहरू प्रविन्द्र महर्जनको संयोजनमा बुधबार थाइल्याण्ड प्रस्थान गरेका छन्।
उनीहरू आगामी ४९औँ चियाङ्माई फ्लावर फेस्टिभल र अन्तर्राष्ट्रिय हर्टी एक्स्पोमा सहभागी भएर दुई देशबिच व्यावसायिक सहकार्य र अनुभव आदान–प्रदान गर्ने लक्ष्य राखेका छन्।
चियाङ्माई फ्लावर फेस्टिभल फेब्रुअरी १३देखि १५ गतेसम्म नङ्ग बुयाक हार्ड सार्वजनिक पार्कमा आयोजना हुँदैछ।
यस वर्षको फेस्टिभलको थिम ‘राेयल ब्लोसम्स ग्लोरिफाइङ द स्काइज, टाइमलेस ब्यूटी अफ नकवन पिङ’ रहेको छ। २५ वटा भव्य सजिएका फ्लोटहरूले स्थानीय फूल, वनस्पति र सांस्कृतिक विविधतालाई प्रदर्शित गर्नेछन्।
पार्कमा एक करोड भन्दा बढी फूलहरू राखिने र राति विशेष प्रकाश व्यवस्थासहितको आकर्षक प्रदर्शन हुने योजना छ। सहभागीहरूले फूल सजावट कार्यशाला, जैविक बगैंचा तालिम, ल्यान्डस्केप डिजाइन सेमिनार, फूल फोटोग्राफी कार्यशाला जस्ता कार्यक्रमहरूमा भाग लिन सक्नेछन्।
महर्जनले भने, “यो अवसरले नेपाली नर्सरी व्यवसायीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्पादन र क्षमताको प्रदर्शन गर्ने मौका दिनेछ, साथै दुई देशबीचको व्यापारिक सम्बन्धलाई मजबुत बनाउनेछ।”
चियाङ्माई फ्लावर फेस्टिभल थाइल्याण्डको सांस्कृतिक पर्यटनको प्रमुख कार्यक्रम भएको मात्र होइन, स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस्