काठमाडौँ । पर्वतारोहण तथा टे«किङक्षेत्रमा भएको ‘फेक रेस्क्यु’मा संलग्न भएको आरोपमा श्रीद्धी अस्पतालका अध्यक्ष डा. गिर्वाणराज तिमिल्सिना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले डा. तिमिल्सिनालाई आज पक्राउ गरेको हो ।
नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरूको उद्धार गरेको देखाई बिमा रकम दाबी गरेर गैरकानुनी लाभ लिएको भन्दै यसअघि पनि एउटा समूहलाई सिआइबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सोही आरोपमा श्रीद्धी अस्पतालका अध्यक्ष डा. तिमिल्सिना पक्राउ परेका हुन् ।
पवर्तारोहण र टे«किङको क्रममा हुन सक्ने दुर्घटना, स्वास्थ्यमा समस्या र प्राकृतिक विपद आइपर्दा पर्यटकहरुको उद्धार गर्नुपर्ने बाध्यात्मक परिस्थिति वा अवस्थामा प्रयोग हुने रेस्क्यू फ्लाइट नै फेक बनाएर बिमा रकम दाबी गरेको भेटिएको थियो ।
यसमा माउनटेन रेस्क्यू सर्भिस प्रा.लि., एभेरेस्ट एक्पिरियन्स एन्ड एसिस्टेन्स प्रा.लि. र नेपाल चार्टर सर्भिस प्रा.लि. यसमा संलग्न भएको सिआइबीको दाबी छ ।
उनीहरूले विवरण नै गलत बनाएर बिल तयार गर्ने, विभिन्न अस्पतालहरूसँग मिलेर उपचारको बिल तयार गर्ने गरेको आरोप सिआइबीको छ ।
यी उद्धार कम्पनीसँग अस्पताहरूसमेत मिलेर लाभ लिएको भन्दै सिआइबीले अनुसन्धान गरिरहेको छ । सोही अनुसार सिआइबिले श्रीद्धीका अस्पतालका अध्यक्ष डा. तिमिल्सिनालाई पक्राउ गरेको हो । उनी पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ का स्थायी वासिन्दा हुन् ।
यसअघि सिआइबिले माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेक राज थपलिया, एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसीलाई पक्राउ गरेको थियो ।
पक्राउबारे सिआइबीले माघ ११ गते पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो ।


प्रतिक्रिया दिनुहोस्