काठमाडाैँ । नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनले सातौँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा अभिभावक र विद्यार्थीलाई लक्षित गर्दै घरेलु आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा घरायसी प्रयोगमा आउने ग्यास, मट्टितेल तथा अन्य ज्वलनशील पदार्थबाट हुन सक्ने आगलागी र त्यसबाट बच्ने उपायबारे विभिन्न प्रस्तुतीमार्फत जानकारी दिइएको थियो। बागमती प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्मका प्रशिक्षकहरूले ग्यास सिलिन्डर, खाना पकाउन प्रयोग हुने तेल तथा मट्टितेलबाट आगो कसरी सल्कन सक्छ र त्यसलाई प्रारम्भिक चरणमै कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक जानकारी प्रदान गरेका थिए।
त्यस अवसरमा घर तथा कार्यालयमा प्रयोग गरिने फायर एक्स्टिङ्गुइशरको सुरक्षित प्रयोग विधि, फायर बलको प्रयोगलगायत अन्य सचेतनामूलक जानकारी पनि सहभागीलाई दिइएको थियो।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शिक्षक, कर्मचारी, प्रहरी कर्मचारी तथा अभिभावकका साथै विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
नेपाल प्रहरीले आफ्नो व्यवस्थापनमा देशभर नौ वटा विद्यालय सञ्चालन गर्दै आएको छ। चितवनको शान्तिपुरस्थित प्रहरी स्कुल भने २०७५ सालदेखि सञ्चालनमा आएको हो। गत वर्षको एसईईमा उत्कृष्ट नतिजा हासिल गरेको उक्त विद्यालयमा हाल कक्षा १ देखि १० सम्म गरी ५७० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्