निजी क्षेत्र त्रसित भए मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्दैनः उद्योगमन्त्री सिन्हा


काठमाडाैँ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको मनोबल खस्किए मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने बताएका छन् । 

काठमाडाैँमा भएकाे एक कार्यक्रममा मन्त्री सिन्हाले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिन र मेरुदण्डको रूपमा परिभाषित गरेका थिए । नेपालको कुल गार्हस्थ उत्पादनमा ८१ प्रतिशत योगदान र ८५ प्रतिशत रोजगारी सिर्जना गर्ने निजी क्षेत्र नै असुरक्षित महशुस गर्छ भने समृद्धिको यात्रा सम्भव नरहेको मन्त्री सिन्हाको भनाइ छ ।

उनले भदौ २३ र २४ गतेको घटनापछि निजी क्षेत्रले व्यहोरेको ३४ अर्बको प्रत्यक्ष भौतिक क्षति र करिव ८१ अर्बको अप्रत्यक्ष आर्थिक क्षति सामान्य नरहेको उल्लेख गरे ।

मन्त्री सिन्हाले ती घटनाहरूमा भएका क्षतिभन्दा पनि लगानीकर्ताको खस्किएको आत्मविश्वास सरकारका लागि ठूलो चुनौती भएको स्वीकार गरेका छन् । राज्य केही दिन सरकार विहीन जस्तै भएको तर अहिले शान्ति सुरक्षाको अवस्थामा सुधार आएको उनले बताए ।

मन्त्री सिन्हाले नीतिगत सुधारमा रहेका अवरोधहरूबारे पनि चर्चा गरे । उनले कच्चा पदार्थमा लाग्ने महशुल र उत्पादित वस्तुको आयातमा लाग्ने महशुलमा हुने विसंगतिलाई ‘मुसाले तार काटेको’ संकेतका रूपमा व्याख्या गर्दै यसमा स्वार्थ समूहको चलखेल हुने गरेको संकेत गरेका छन् । 

उनले न्यायालयको अवस्था र विवाद निरूपण संयन्त्र फितलो भएकोमा चिन्ता व्यक्त गरे । सरकारले न्यायालयमा गर्ने लगानी न्युन रहेको भन्दै व्यावसायिक विवादहरू तत्काल हल गर्ने वातावरण नबनेसम्म ‘टाइम इज मनी’को अवधारणा सफल नहुने उनको तर्क थियो ।