‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’


काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकको दिगो विकास र समृद्धिका लागि विध्वंसात्मक बाटो छोडेर संवाद र सुधारको मार्ग अवलम्वन गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडाैँमा भएकाे एक कार्यक्रममा अध्यक्ष दाहालले नेपालको भविष्य विध्वंश र अराजकतामा नभइ संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित रहेको बताएका हुन् । 

निजी क्षेत्रको आत्मविश्वास नफर्किएसम्म अर्थतन्त्र बलियो हुन नसक्ने चेतावनी दिए। उनले भदौ २३ र २४ गतेका घटनाहरूले राष्ट्रिय जीवनमा गम्भीर प्रश्न उब्जाएको र त्यसले लगानीकर्ताको मनोविज्ञानमा गहिरो चोट पु¥याएको उल्लेख गरे ।

भ्रष्टाचार र कुशासन विरुद्ध उठ्ने नागरिक आवाज जायज भए पनि त्यसको आवरणमा हुने भौतिक विनाशले मुलुकलाई असफल राष्ट्रतर्फ धकेल्ने उनले बताए । 

आर्थिक क्षतिको डरलाग्दो तथ्याङ्क

अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै अध्यक्षले भदौको प्रदर्शनका क्रममा निजी क्षेत्रमा ३४ अर्ब रुपैयाँको प्रत्यक्ष भौतिक क्षति र ८१ अर्ब रुपैयाँ बराबरको अप्रत्यक्ष आर्थिक क्षति भएको बताए । ९८ प्रतिशत व्यवसायीको मनोबल खस्कनु र ९७ प्रतिशतले लगानीको वातावरण कमजोर भएको महशुस गर्नु अर्थतन्त्रका लागि खतराको घण्टी भएको उनको भनाइ छ ।

कुशासन विरुद्धको आक्रोश र अराजकताको भेद

अध्यक्ष दाहालले आन्दोलनका नाममा हुने लुटपाट र आगजनीलाई ‘आततायी विध्वंश’ को संज्ञा दिए । भदौ २३ गतेको आन्दोलन भ्रष्टाचार र जवाफदेहिताको अभाव विरुद्ध रहेको तर २४ गतेको विध्वंश स्वाभाविक निरन्तरता नभएको बताए ।

के यो अराजकता नेपाललाई असफल बनाउने गलत नियतबाट प्रेरित त थिएन ? उनको प्रश्न छ । यो राष्ट्रमाथि नै अस्तित्वको प्रश्न उठाउने हमला भएको उनको जिकिर छ । 

अन्तर्राष्ट्रिय छवि र सुशासनको चुनौती

नेपाल अहिले पनि एफएटीएफको ‘ग्रे लिस्ट’ मा पर्नसक्ने जोखिममा रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले सुशासन र अन्तर्राष्ट्रिय मापदण्डप्रति प्रतिवद्धता व्यवहारमै देखिनुपर्ने बताए ।

राज्यले सही शासन व्यवस्था सञ्चालन गर्न नसक्दा नागरिकमा आक्रोश जन्मिने भएपनि त्यसको समाधान भौतिक संरचनाको विनाश नभएको उनको तर्क छ । 

नीतिगत सुधारको प्रतिवद्धता

अध्यक्ष दाहालले निजी क्षेत्रलाई हेर्ने सामाजिक र सांस्कृतिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । नाफा कमाउनु अपराध नभई व्यवसाय विस्तार र रोजगारी सिर्जनाको आधार भएको उनले बताए ।

साथै राष्ट्रिय सभाले लगानीको सुरक्षा सुनिश्चित गर्न, भ्रष्टाचारमुक्त सुशासन कायम गर्न र व्यवसायमैत्री कानुन निर्माण गर्न सदैव तत्पर रहने प्रतिवद्धता समेत व्यक्त गरे ।