काठमाडौँ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा दुई खाद्य व्यवसायलाई अनुमति नलिई खाद्य पदार्थ प्याकेजिङ र बिक्री वितरण गरेको आरोपमा कारबाही गरेको छ।
विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरी वृत्त कालीमाटीको संयुक्त अनुगमनमा काठमाडौँ महानगरपालिका–१३, कालीमाटीस्थित शंकर खाद्य स्टोर र माँ भवानी खाद्य किराना स्टोरले खाद्य उद्योग दर्ता नगरी तथा खाद्य अनुमति पत्र बिना विभिन्न खाद्य पदार्थहरू बिक्री वितरण गरेको पाइएको हो।
अनुगमनका क्रममा शंकर खाद्य स्टोरबाट दाना धनियाँ, जीरा, ज्वानो, सौफ लगायतका प्याकेजिङ गरिएको खाद्य पदार्थहरू सङ्कलन गरिएकाे थियाे । माँ भवानी खाद्य किराना स्टोरबाट पनि समान प्रकारका खाद्य पदार्थहरूको नमुना सङ्कलन गरिएको छ।
दुवै व्यवसायलाई ७ दिनभित्र विभागमा उपस्थित भएर थप अनुसन्धानमा सहयोग पुर्याउन निर्देशन दिइएको छ। साथै, विभागले अनुमति नलिई प्याकेजिङ गरी विक्री वितरण गरिएको खाद्य पदार्थहरू सिलबन्दी गरी रोक्का गरिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्