सामान्य सार्वजनिक सेवामा सुधार नगर्दा जनअसन्तोष बढ्यो : उपाध्यक्ष श्रेष्ठ


काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा तत्काल सुधार आवश्यक रहेको बताएका छन्।

दैनिक जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएका आधारभूत सेवामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यान जानुपर्ने उनले जोड दिएका छन्।

उनले ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्रजस्ता सेवामा लामो लाइन, झन्झटिलो प्रक्रिया र व्यवस्थापनको अभावका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको उल्लेख गरे।

उनका अनुसार सरकारले ठूला कार्यक्रम र घोषणाभन्दा सामान्य सार्वजनिक सेवामा सुधार गर्न प्राथमिकता दिनुपर्ने आवश्यकता छ। विगतदेखि नै सार्वजनिक सेवा सुधारमा पर्याप्त ध्यान नदिँदा जनतामा असन्तोष बढ्दै गएको उनको भनाइ छ।

श्रेष्ठले राजनीति र व्यवसायबीचको अत्यधिक घनिष्ठ सम्बन्धले नकारात्मक सन्देश फैलिरहेको पनि बताए। राजनीतिक प्रभाव र लबिङका आधारमा व्यवसाय सञ्चालन गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको धारणा छ।

उनले उद्योगी–व्यवसायीहरूलाई नवप्रवर्तन र सिर्जनशीलतामा ध्यान दिन, तथा व्यवसायलाई व्यावसायिक ढंगले सञ्चालन गर्न आग्रह गरे।

उपाध्यक्ष श्रेष्ठले सार्वजनिक सेवा सुधारबारे बोल्दै सामान्य सेवामा देखिएको अव्यवस्था सरकारका लागि मुख्य चुनौती बनेको बताए। कतिपय कानुनी उल्झनका कारण पनि सेवा प्रवाह सहज बनाउन कठिनाइ भइरहेको उनले उल्लेख गरे। यसले गर्दा सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपरेको र जनतामा असन्तोष बढेको उनको भनाइ छ।

उनले भदौ २३ र २४ का घटनाबाट पाठ सिक्दै सञ्चार क्षेत्र पनि थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए। श्रेष्ठका अनुसार अहिले देखिएको असन्तोषमा सञ्चारमाध्यमको भूमिका पनि रहेको छ। नेपालमा केही नभएको जस्तो भाष्य सञ्चारमाध्यमबाट फैलाइरहेको उनले टिप्पणी गरे।