झुटा सामग्री नियन्त्रण गर्न नेपाल प्रहरीले एआइ र एडभान्स एनालेटिक सेल गठन गर्ने


काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता र एडभान्स एनालेटिक सेल गठन गर्ने तयारी गरिरहेको बताएका छन्।

सूचना प्रविधिको दुरुपयोग गर्दै झुटा तथा भ्रामक सामग्री प्रसारण हुने क्रम बढ्दै गएकाले त्यस्ता गतिविधिमाथि निगरानी राख्न र कानुनी उपचारका लागि सो सेल गठन गर्न लागिएको उनले बताए।

सोमबार काठमाडौंमा आयोजित ‘अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका’ विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिटो सूचना दिने होडका कारण मुलुकमा गलत र भ्रामक समाचार फैलिने क्रम बढ्नु चिन्ताजनक भएको उल्लेख गरे।

उनले यस्ता गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी र सञ्चारकर्मीबीच बलियो सहकार्य आवश्यक रहेको बताए।

महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीले आफ्नो धर्मका रूपमा आत्मसात गर्नुपर्ने आवश्यकता पनि औँल्याए। डिजिटल युगमा छिटो सूचना दिने प्रतिस्पर्धाले मिसइन्फर्मेशन, डिसइन्फर्मेशन, हेट स्पिच, एआईको दुरुपयोग तथा डिजिटल म्यानिपुलेसनमार्फत सिर्जित झुटा सामग्री बढिरहेको उनले बताए।

उनले कानुन कार्यान्वयन नै कानुनी शासनको आधार भएकाले ‘कटपेस्ट’ शैलीको यान्त्रिकताभन्दा सिर्जनशील र जिम्मेवार पत्रकारितामा जोड दिनुपर्ने उल्लेख गरे।

साथै, यस्ता गतिविधिको निगरानी र कानुनी उपचारका लागि नेपाल प्रहरीले एआई र एडभान्स एनालेटिक सेल स्थापना गर्ने निष्कर्षमा पुग्न लागेको जानकारी दिए।

महानिरीक्षक कार्कीले अपराध अनुसन्धानमा नकारात्मक असर पर्ने खालका समाचार सम्प्रेषण हुन नदिन सञ्चार माध्यमहरू पनि सचेत हुनुपर्ने बताए।