बिमा कागजातमा हुलाक टिकट टाँस्ने प्रचलन हटाइयो


काठमाडाैँ । सरकारको निर्णयअनुसार बिमा सम्बन्धी कागजातमा हुलाक टिकट टाँस्ने अभ्यास हटाइने भएको छ।

नेपाल बिमा प्राधिकरणले सोमबार जारी गरेको परिपत्रमार्फत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो।

प्राधिकरणका अनुसार मन्त्रिपरिषद्ले गत मंसिर २९ गते सेवा प्रवाहका क्रममा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्था हटाउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार अब प्रचलित कानुनमा स्पष्ट व्यवस्था गरिएको अवस्थामा बाहेक बिमा सम्बन्धी कुनै पनि कागजातमा हुलाक टिकट टाँस्नुपर्ने प्रचलन अन्त्य गरिएको प्राधिकरणले जनाएको छ।

यो व्यवस्था जीवन बिमक, निर्जीवन बिमक, लघुबिमक, पुनर्बीमक, बिमा दलाल तथा अन्य मध्यस्थकर्तासमेत सबै इजाजतप्राप्त संस्थामा लागू हुने प्राधिकरणले स्पष्ट पारेको छ।

सेवा प्रवाहलाई सरल, छरितो र कागजमुखी प्रक्रिया घटाउने उद्देश्यले यस्तो निर्णय कार्यान्वयनमा ल्याइएको बताइएको छ।