राष्ट्रिय सभाबाट पर्यटन विधेयक सर्वसम्मत रूपमा पारित


काठडौँ । राष्ट्रिय सभाले पर्यटन क्षेत्रको कानुनी ढाँचा अद्यावधिक गर्ने उद्देश्यसहित पर्यटन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलपछि सभाले कुनै मतविरोधबिना विधेयक अनुमोदन गरेको हो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ५ वैशाख २०८२ मा विधेयक ल्याएका थिए । १४ वैशाखमा राष्ट्रिय सभामा दर्ता भई प्रस्तुत गरिएको यो विधेयक ११ साउन २०८२ मा दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो ।

समितिबाट संशोधनसहित पारित भई सभामा फर्किएपछि अन्ततः राष्ट्रिय सभाबाट टुंगो लागेको हो ।

सरकारले यस विधेयकमार्फत पर्यटन व्यवसाय, सेवा प्रवाह र व्यवस्थापनलाई समयानुकूल बनाउने अपेक्षा गरेको छ । अब प्रतिनिधि सभामा पठाइएपछि राष्ट्रपतिको प्रमाणीकरणसँगै कानुन कार्यान्वयनको बाटो खुल्नेछ ।