विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रूपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिएकी छन्। 

मंगलवार काठमाडौँको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उनले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराएकी हुन्।

सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी सो खोप निःशुल्क रूपमा उपलब्ध गराएको छ । सो खोप लिन र त्यसलाईं व्यवस्थित रुपमा सम्पन्न गर्न कार्यवाहक प्रमुख डंगोलको आग्रह थियो । उनले सो खोप अभियान काठमाडौँ महानगरपालिका भित्रका सबै विद्यालयहरुमा संचालन भईरहेकाले त्यसबाट लाभ लिन पनि किशोरीहरूलाई आग्रह गरिन्।

सरकारले पाठेघरको मुखको क्यान्सरबाट धेरैको ज्यान जान थालेपछि त्यसको प्रतिरोधको लागि यो भ्याक्सिन निःशुल्क रूपमा उपलब्ध गराउने कामलाई अभियानकै रुपमा सञ्चालन गरेको हो । सो अभियानबाट लाभ लिन पनि काठमाडौँ महानगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।