नेपाल सुनचाँदी तथा रत्न आभुषण महासङ्घद्वारा व्यावसायिक सहायता कक्ष स्थापना


काठमाडौँ । नेपाल सुनचाँदी तथा रत्न आभुषण महासङ्घले व्यावसायिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ ।

महासङ्घले सुन, चाँदी तथा आभुषण व्यवसायीहरूलाई व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने प्रचलित ऐन, कानुन तथा नियमबारे जानकारी, सचेतना र प्रशिक्षण प्रदान गर्दै व्यवसायिक प्रवर्धन तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सहायता कक्ष स्थापना गरिएको महासङ्घले जनाएको छ ।

व्यावसायिक सहायता कक्षको प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको उपस्थितिमा उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै एआइजी कार्कीले पछिल्लो समय प्रविधिको प्रयोगमार्फत हुने अपराधका घटनाहरू बढ्दै गएकाले व्यवसायीहरू थप सतर्क र सचेत रहनुपर्नेमा जोड दिए ।

व्यावसायिक सहायता कक्षमार्फत व्यवसायीहरूले कानुनी तथा लेखा परामर्श, नियामक व्यवस्थासम्बन्धी जानकारी तथा व्यवसायिक समस्या समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन् ।

यस पहलले सुन, चाँदी तथा आभूषण व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र सम्मानित बनाउँदै व्यवसायीहरू र सरोकारवाला निकायबीच समन्वय र विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास महासङ्घका अध्यक्ष किसान सुनारको विश्वास छ ।