काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सार्वजनिक ऋण परिचालन र ऋण सेवा खर्चको अवस्था सार्वजनिक गरेको छ ।
समीक्षाअनुसार चालु आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी कूल ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिइएकोमा समीक्षा अवधिसम्म २ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ ऋण परिचालन भएको छ । यो वार्षिक लक्ष्यको ३६ दशमलव ०२ प्रतिशत हो ।
आन्तरिक ऋणतर्फ लक्ष्यको ४९ दशमलव ०८ प्रतिशत प्रगति भएको छ भने बाह्य ऋण परिचालन १५ दशमलव ७९ प्रतिशतमा सीमित रहेको छ । कूल प्राप्त सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा २२ दशमलव ८१ प्रतिशत र बाह्य ऋणको हिस्सा १७ दशमलव १९ प्रतिशत रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋण परिचालनमार्फत ३ खर्ब ६२ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएको छ, जुन कूल बजेटको १८ दशमलव ४३ प्रतिशत हो । बजेट घाटा पूर्ति गर्न ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रजस्ता उपकरण प्रयोग गरिएको छ ।
यसैगरी, चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा समीक्षा अवधिसम्म १ खर्ब ८७ अर्ब १२ करोड रुपैयाँ भुक्तानी भएको छ । यो वार्षिक विनियोजनको ४५ दशमलव ५३ प्रतिशत हो ।

यस अवधिमा आन्तरिक ऋणतर्फ साँवा १ खर्ब २६ अर्ब ७६ करोड र ब्याज २८ अर्ब ३७ करोड गरी १ खर्ब ५५ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको छ । बाह्य ऋणतर्फ साँवा २६ अर्ब १३ करोड र ब्याज ५ अर्ब ८५ करोड गरी ३१ अर्ब ९९ करोड रुपैयाँ भुक्तानी भएको छ ।
समीक्षा अवधिसम्म कूल सार्वजनिक ऋण सेवा खर्च १ खर्ब ८७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये साँवा भुक्तानीको हिस्सा ८१ दशमलव ७१ प्रतिशत र ब्याज भुक्तानीको हिस्सा १८ दशमलव २९ प्रतिशत रहेको छ ।
सरकारले सार्वजनिक ऋणको अवस्था व्यवस्थापनयोग्य रहेको दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्