काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताएका छन्। भ्रष्टाचार नियन्त्रणलाई विकास र समृद्धिको अनिवार्य शर्तका रूपमा उल्लेख गर्दै उहाँले अख्तियार दुरुपयोग गर्ने जो कोहीलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार केवल कानूनी उल्लङ्घन मात्र नभई नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथिको गम्भीर प्रहार भएको टिप्पणी गरे।
सार्वजनिक शक्तिको दुरुपयोगले राज्य र नागरिकबीचको भरोसाको सेतु कमजोर बनाउने र अन्ततः शासन प्रणालीप्रति नै निराशा जन्माउने उनको भनाइ थियो।
राष्ट्रपतिले जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य सहज सेवा प्रवाह, सुशासन र समृद्धि भएको उल्लेख गरे । लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सामाजिक न्याय र समृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य रहेको उनले बताए। “सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पु¥याउन सकिँदैन,” उनले भने ।
भ्रष्टाचारलाई सामान्य त्रुटि नभई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौतीका रूपमा चित्रित गर्दै उनले आयोगलाई कसैको दबाब वा प्रभावमा नपरी निष्पक्ष र प्रभावकारी रूपमा काम गर्न आग्रह गरे। पद र शक्तिको आडमा कोही पनि कानूनी जवाफदेहिताबाट मुक्त हुन नसक्ने विश्वास आम नागरिकमा दिलाउन आयोगले थप सशक्त भूमिका खेल्नुपर्ने उनको धारणा थियो।
युवा पुस्ताले सङ्घर्षमार्फत प्रकट गरेको सुशासनको चाहनालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले आयोगलाई अझ स्वतन्त्र, उत्तरदायी र प्रभावकारी बनाउनु सबैको साझा दायित्व भएको बताए । भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धताबाट मात्र सफल हुने उनको भनाइ थियो।
राष्ट्रपतिले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो शर्त भएको उल्लेख गर्दै राजनीतिक नेतृत्व र पदाधिकारीहरूको कार्यसंस्कृतिमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताए। सत्ता, शक्ति र धनसम्पत्तिको अनावश्यक मोहले प्रक्रिया र प्रणालीको दुरुपयोग गरी भ्रष्टाचारतर्फ प्रवृत्त गराउने भन्दै उनले सदाचार, नैतिकता, निष्पक्षता र पारदर्शितालाई जीवन पद्धतिकै रूपमा अपनाउन आह्वान गरे ।
आयोगले आगामी दिनमा अझ स्वच्छ, पारदर्शी र जिम्मेवार ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले कसुर र कसुरदार सानो–ठूलो नहेरी कानूनी कारबाही अघि बढाउन आयोग चुक्न र झुक्न नहुने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस्