काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले फागुन ११ गतेदेखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते ऋणपत्र निष्कासनका लागि अनुमति प्राप्त गरेको जनाएको छ।
कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ जारी गर्न लागेको हो।
कुल निष्कासनमध्ये ३ लाख कित्ता व्यक्तिगत तवर ९प्राइभेट प्लेसमेन्ट० बाट बिक्री गरिनेछ भने २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ। सार्वजनिक निष्कासनअन्तर्गत ५ प्रतिशत अर्थात् १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
७ वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्, जसले स्थिर प्रतिफल खोज्ने लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि बन्द हुने जनाइएको छ। न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
उक्त डिबेञ्चरको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्