नेपाल–कतार जेबीसी बैठकः व्यापार र लगानी विस्तारमा दुवै पक्षको सहकार्य प्रतिबद्धता


काठमाडाैँ । नेपाल–कतार द्विपक्षीय व्यापार र लगानी प्रवद्र्धनका लागि गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौँमा सम्पन्न भएको छ। चन्द्रागिरीमा सम्पन्न उक्त बैठकले दुई देशबीच आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा व्यक्त गरिएको छ।

सन २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता हस्ताक्षर भएको थियो।

जेबीसी नेपाल र कतारका निजी क्षेत्रबिच संवाद, व्यवसायिक सहकार्य र प्रत्यक्ष संलग्नता प्रवर्धन गर्ने संरचित मञ्चको रूपमा स्थापना गरिएको हो।

बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवद्र्धन, व्यापार विस्तार, निजी क्षेत्र–निजी क्षेत्र सहकार्य र सरकार–सरकार (जीटुजी) समन्वयबारे गहन छलफल गरेका थिए।

सहभागीहरूले नेपाल–कतार आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली पक्षले बैठकमा लगानीमैत्री वातावरण सुधार गर्न कानुनी संशोधन, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने र सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्धनमा सरकारको जोड रहेको उल्लेख गर्दै नेपालका उर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि लगायतका क्षेत्रहरूमा कतारी लगानीका लागि आग्रह गरेको थियो।

साथै, नेपाली व्यवसायीहरूलाई कतारमा सेवा, पर्यटन, सीप विकास र साना तथा मझौला उद्यममा अवसर खोज्न आग्रह गर्दै संयुक्त उद्यमको सम्भावनामा जोड दिइएको थियो।

कतारी प्रतिनिधिमण्डलले नेपालमा लगानी वातावरण सकारात्मक रहेको र दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य र व्यवसायिक आदान–प्रदान विस्तार गर्न इच्छुक रहेको बताएका थिए।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैठकले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न योगदान दिने बताए । उनले महासंघले विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण र व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवर्धनमा पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे।

साथै, महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले जेबीसीलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउनु पर्नेमा जोड दिए । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य तथा प्रतिनिधिमण्डलका प्रमुख मोहद अहमद एम.ए. अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताए।

बैठकको निष्कर्षअनुसार जेबीसीले नेपाल–कतार आर्थिक सहकार्यलाई संस्थागत रुपमा अगाडि बढाउँदै व्यापार, लगानी र निजी क्षेत्रको प्रत्यक्ष साझेदारीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।