काठमाडौँ । नेपालमै विकास गरिएको एआई–सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ। डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै व्यक्ति, व्यवसाय र सरकारी निकायलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित प्लेटफर्मले औपचारिक सुरुवात गरेको हो।
नेपाली आइटी विज्ञ युवाको लगानी र प्रविधिमा तयार गरिएको यो प्लेटफर्मले सम्पर्क, व्यापार, सेवा र अवसरलाई एकीकृत डिजिटल संरचनामा समेट्ने दाबी गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत भगवानदास अग्रहरिका अनुसार नेपालमै निर्माण भए पनि यसको डिजाइन र कार्यप्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ।
संस्थाका अध्यक्ष शेखर अर्यालका अनुसार नेपालमा छरिएका डिजिटल सेवाहरूलाई एकीकृत गर्दै एआई–चालित बहुपक्षीय प्रणालीमार्फत प्रयोगकर्तालाई सशक्त बनाउने उद्देश्यले ग्लोबल डायरी निर्माण गरिएको हो। अध्यक्ष अर्यालले भने, “प्रयोगकर्ताले आफ्नो परिचय, व्यवसाय पृष्ठ, पोर्टफोलियो र सेवाहरू एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न सक्नेछन्,”
प्लेटफर्मलाई सस्तो र स्केलेबल बनाइएको दाबी गर्दै कम्पनीले साना व्यवसाय, स्टार्टअप तथा ठूला कम्पनीलाई डिजिटल मार्केटिङ, विश्लेषण, ग्राहक संलग्नता र भर्ती प्रणाली उपलब्ध गराउने जनाएको छ। एआई–आधारित सुझाव प्रणालीमार्फत नेटवर्किङ, रोजगारी र व्यवसाय विस्तारका अवसर सिफारिस गरिने बताइएको छ।
कम्पनीले करिब ६० प्रतिशतसम्म डिजिटल खर्च घटाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र विदेशी डिजिटल प्लेटफर्ममा जाने वार्षिक १५० मिलियन अमेरिकी डलरभन्दा बढी विज्ञापन खर्च स्वदेशमै रोक्ने दाबी गरेको छ। साथै, राष्ट्रिय स्तरको डेटा सुरक्षा र स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखिएको जनाएको छ।
ग्लोबल डायरीले समुदाय–केन्द्रित विकास र डिजिटल समावेशितालाई अघि बढाउँदै नेपालबाट विश्व बजारसम्म प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्