काठमाडाैँ । काठमाडौँ उपत्यकामा वायु प्रदुषणको स्तर खतराको बिन्दुमा पुगेको छ । लामो समयदेखि वर्षा नहुनु र जाडोयाममा हावाको बहाव कम हुनुले उपत्यकाको आकाश तुवाँलोले ढाकिएको छ ।
विश्वव्यापी ¥याङ्किङमा काठमाडौँ प्रदुषित शहरहरूको सूचिमा माथिल्लो स्थानमा उक्लिरहँदा यसको प्रत्यक्ष असर जनस्वास्थ्यमा देखिन थालेको छ ।
यसै सन्दर्भमा अल्का अस्पताल, पुल्चोककी फिजिसियन डा. रक्षा गौतमले वायु प्रदुषणले मानव स्वास्थ्यमा पारिरहेको गम्भीर असर, विशेषगरी ‘मर्निङ वाक’ सजगता अपनाउन आग्रह गरिन् ।
काठमाडौंको बिग्रँदो हावा र स्वास्थ्य संकट
पछिल्लो समय काठमाडौँको आकाश सफा देखिन छोडेको छ । घाम राम्रोसँग नलाग्ने र वरिपरि तुवाँलो लागेजस्तो देखिनु मौसमको खराबी मात्र नभएर वायु प्रदुषणको डरलाग्दो रूप हो ।
डा. रक्षा गौतमकाअनुसार सामान्यतया एअर क्वालिटी इन्डेक्स ५० देखि १०० को बीचमा हुनुलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर काठमाडौंमा जाडो मौसममा यो सूचकांक बढेर १५० भन्दा माथि र कहिलेकाहीँ त २०० सम्म पुग्ने गरेको छ ।
डा. गौतम भन्छिन्, “हामीले आकाशतिर हेर्दा पनि अलि फोहोर देखिन्छ । वास्तवमा वायु प्रदुषणको कारण यस्तो देखिएको हो। अस्वस्थकर हावाले बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासका बिरामीलाई बढी असर गर्ने गरेको छ।”
प्रदुषण बढ्दा श्वास फेर्न कठिनाइ हुने, खोकी लाग्ने, आँखा र घाँटी पोल्ने तथा सानो काम गर्दा पनि अत्यधिक थकाइ लाग्ने जस्ता लक्षणहरू बिरामीमा देखिने गरेका छन् ।
जाडोको ‘मर्निङ वाक’ः स्वास्थ्यका लागि कि रोगका लागि ?
धेरै मानिसहरू स्वास्थ्य राम्रो बनाउन बिहान हिँड्ने (मर्निङ वाक) गर्छन् । तर डा. गौतमले अहिलेको प्रदुषित मौसममा बिहानको हिँडाइ घातक हुनसक्ने चेतावनी दिइन् ।
उनकाअनुसार जाडो मौसममा रगतका धमनीहरू (शिरा) स्वाभाविक रूपमा खुम्चिएका हुन्छन्। त्यसमाथि बिहानको समयमा प्रदूषणका कणहरू जमिनको सतह नजिक थुप्रिएर बसेका हुन्छन्।
“बिहानको समयमा फोहोर तथा प्रदुषण जमिनमा थुप्रिएर बसेको हुन्छ। हामीले लिने श्वासमा त्यही प्रदुषण आउने भएको कारण हामी बिहानको समयमा बाहिर निस्कनु हुँदैन्,” डा. गौतम सुझाव दिन्छिन् ।
प्रेसर, सुगर र मुटुका बिरामीहरू बिहान चिसो र प्रदूषणमा निस्किँदा धमनी थप साँघुरिने र रगत सञ्चालनमा अवरोध आउने जोखिम हुन्छ । यसले मस्तिष्कघात र हृदयघातको जोखिम ह्वात्तै बढाउँछ ।
उनले भनिन्, “बाहिर हिँड्दा वा मर्निङ वाकमा निस्किँदा मानिस बाटोमै ढलेको खबरहरू हामीले यही मौसममा बढी सुन्ने गरेका छौँ। मर्निङ वाक नै गरिरहनुभएको छ भने पनि यो दुई महिना घरमै सिमित राख्न मेरो आग्रह छ । यसले स्वास्थ्यलाई राम्रो असर गर्ने हाम्रो विश्वास छ ।”
ओपिडीमा देखिने डरलाग्दा लक्षणहरू
अस्पतालको ओपिडीमा आउने बिरामीहरूमा प्रदुषणको प्रत्यक्ष असर देखिन थालेको छ । एअर क्वालिटी इन्डेक्स १७५ भन्दा माथि जान थालेपछि अस्पतालमा बिरामीको चाप बढ्ने गरेको डा. गौतमको अनुभव छ ।
बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने तर कारण पत्ता नलाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने र कहिल्यै ‘फ्रेस’ महशुस नहुने गुनासो गर्ने गरेका छन् ।सबैभन्दा चिन्ताजनक कुरा त खोकी र खकारमा देखिने परिवर्तन हो ।
डा. गौतमले भनिन्, “बिहान खोक्दा बाहिर आउने खकारमा कालो कणहरू देखिने तथा धेरैको रगत नै निस्कियो कि भनेर डराउने खालका लक्षणहरू देखिने गरेका छन्।”
दम र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज भएका बिरामीहरूलाई यो मौसममा सास फेर्न निकै कष्टकर हुने गर्छ । दीर्घकालीन रूपमा यसले फोक्सोको क्यान्सर, स्ट्रोक, मधुमेह र मस्तिष्क सम्बन्धी रोगहरूको जोखिम समेत बढाउँछ ।
जोखिम समूह र बच्ने उपाय
वायु प्रदुषणले सबैलाई असर गरे पनि ‘सेन्सेटिभ ग्रुप’ अर्थात बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगीहरू उच्च जोखिममा हुन्छन् ।
डा. गौतमले यो समूहलाई जाडोको दुई महिना विशेष ख्याल गर्न र सकेसम्म घरभित्रै बस्न सुझाव दिइन् ।
प्रदुषणबाट बच्न डा. गौतमका सुझावहरूः
घरभित्रै बस्नेः बिहान र साँझको अत्यधिक प्रदूषण हुने समयमा बालबालिका र वृद्धवृद्धालाई बाहिर ननिकाल्ने ।
मास्कको प्रयोगः अत्यावश्यक कामले बाहिर निस्किनु परेमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने ।
एअर प्युरिफायरः आर्थिक अवस्थाले भ्याएसम्म घरमा हावा शुद्धीकरण गर्ने मेसिनको प्रयोग गर्ने ।
चिकित्सकको परामर्शः बालबालिका वा दीर्घरोगीमा समस्या देखिए तुरुन्त विशेषज्ञको सल्लाह लिने ।
वातावरणीय जिम्मेवारी र राज्यको दायित्व
वायु प्रदुषण केवल स्वास्थ्य समस्या मात्र नभएर वातावरणीय समस्या पनि हो । डा. गौतमले व्यक्तिगत र सरकारी दुवै तवरबाट प्रदूषण नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिइन् । घर वरपरको वातावरण स्वच्छ राख्ने, रुख बिरुवा रोप्ने र जथाभावी आगो नबाल्ने जस्ता कार्यहरू नागरिक स्तरबाट हुनुपर्छ ।
उनले सवारी साधनको प्रयोगमा पनि सचेतता अपनाउन आग्रह गरिन्।
“घरमा दुई–तीन वटा सवारी साधन छन् भने यो समयमा नचलाउने, सकेसम्म विद्युतीय सवारी साधनको प्रयोग गर्ने र धेरै धुवाँ फाल्ने पुराना सवारी साधन विस्थापन गर्नुपर्छ,” उनको भनाइ छ ।
डा. गौतमले सरकारलाई पनि प्रदुषण नियन्त्रणमा कडा कदम चाल्न आग्रह गरिन् । भीडभाड कम गर्ने र अनावश्यक धुवाँ फाल्ने सवारी साधनलाई कडाइका साथ नियन्त्रण नगरेसम्म यो समस्या समाधान नहुने उनको तर्क छ ।
वर्षा नभएसम्म र हावा नचलेसम्म काठमाडौंको प्रदुषण घट्ने सम्भावना कम छ । तसर्थ यो विषम परिस्थितिमा ‘मर्निङ वाक’ रोकेर भएपनि आफू र आफ्नो परिवारलाई प्रदुषणको गम्भीर असरबाट जोगाउन डा. रक्षा गौतमले विशेष अपिल गरिन् ।


प्रतिक्रिया दिनुहोस्