काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम उक्त आदेश जारी गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशअनुसार आजदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म एक महिनासम्म विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रका सम्पूर्ण क्षेत्र निषेधित रहनेछन्।
निषेधित क्षेत्रमा विमानस्थल हाताभित्रका सबै सडक, आन्तरिक टर्मिनल, अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र लगायतका स्थान समेटिएका छन्।
उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पूर्णरूपमा रोक लगाइएको प्रशासनले जनाएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा यस्ता गतिविधिबाट तोडफोड, आगजनी, भिडन्त, हुलदंगा तथा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति तथा समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै निषेध आदेश जारी गरिएको प्रशासनको भनाइ छ।
यद्यपि निषेधित क्षेत्र बाहेकका स्थानमा भने संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्ण रूपमा भेला भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने अधिकारप्रति स्थानीय प्रशासन प्रतिबद्ध रहेको जनाएको छ।
संविधान तथा प्रचलित कानूनअनुसार अधिकार प्रयोग हुने गरी पूर्व जानकारी गराई आयोजना गरिने विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेमा स्थानीय प्रशासन ऐन, २०२८ तथा सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०८१ बमोजिम क्षतिको मूल्याङ्कन गरी सम्बन्धित आयोजकबाट नै क्षतिपूर्ति असुलउपर गरिने पनि कार्यालयले स्पष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस्