काठमाडौँ । जेन–जी सुशासन योद्धा परिवारले शहीदहरूको सम्झनामा भावपूर्ण क्षमायाचना पूजा तथा होम कार्यक्रम आयोजना गरेको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि आयोजित उक्त कार्यक्रममा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको आत्मशान्तिको कामना गर्दै पूजा–अर्चना र होम गरिएको हो। कार्यक्रममा शहीद परिवारका सदस्य, योद्धा परिवारका प्रतिनिधि तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सरकारले जेन–जी सुशासन आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जना प्रदर्शनकारीलाई शहीद घोषणा गरेको छ। उनीहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारले समय–समयमा यस्ता धार्मिक तथा स्मरणात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।
कार्यक्रममा सहभागीहरूले शहीदहरूको योगदानलाई स्मरण गर्दै सुशासन स्थापनाका लागि संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। पूजा तथा सत्याग्रहमार्फत शहीदहरूको आत्माले शान्ति पाओस् भन्ने कामना गर्नुका साथै समाजमा सुशासनको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको आयोजकले बताएका छन्।
जेन–जी सुशासन योद्धा परिवारले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्