काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दाबी भुक्तानी र सञ्चालन खर्च बढ्दो अवस्थामा रहँदा पनि नाफा वृद्धि कायम राखेको छ।
कम्पनीले समीक्षा अवधिसम्म ६४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष दोस्रो त्रैमाससम्म कम्पनीको नाफा ६१ करोड ६९ लाख रुपैयाँ थियो।
कम्पनीको खुद बीमाशुल्क आर्जन उल्लेख्य रूपमा ४१.३१ प्रतिशतले बढेर ३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।
गत वर्ष सोही अवधिमा यस्तो आर्जन २ अर्ब २९ करोड रुपैयाँमा सीमित थियो। व्यवसाय विस्तार र बजार पहुँच मजबुत बन्दै गएको संकेतस्वरूप बिमा शुल्क आर्जनमा तीव्र वृद्धि देखिएको छ।
यद्यपि, दाबी भुक्तानी १ अर्ब १८ करोड रुपैयाँबाट बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च पनि २ अर्ब २ करोड रुपैयाँबाट बढेर २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
बढ्दो दाबी र खर्चबिच पनि कम्पनीले आम्दानी वृद्धि गर्दै नाफा जोगाउन सफल भएको देखिन्छ। कुल आम्दानी ३ अर्ब ४ करोड रुपैयाँबाट बढेर ३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।
सञ्चित मुनाफातर्फ कम्पनीको रिटेन्ड अर्निङ ८२ करोड ७६ लाख रुपैयाँबाट बढेर १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ भने महाविपत्ति कोषमा २३ करोड ९७ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ११.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५७.०२ रुपैयाँ र पिई रेसियो ७०.७४ गुणा कायम रहेको छ। वित्तीय सूचकहरूले कम्पनीको आधार बलियो बन्दै गएको संकेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्