रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक समिक्षाः पुँजीगत खर्च ६ प्रतिशत मात्र, अधिकांश आयोजनामा वित्तिय प्रगति कमजोर


काठमाडाैँ । रक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । 

मन्त्रालयले बजेट कार्यान्वयन, मन्त्रालय तथा अन्तर्गतका निकायहरुमार्फत भएको खर्चको विवरण तथा मन्त्रालयअन्तर्गतका निकायहरुबाट सञ्चालित विकास निर्माणका योजनाहरु कार्यान्वयनको अवस्था सार्वजनिक गरेको हो ।

मन्त्रालयकाअनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको लागि सरकारले रक्षा मन्त्रालयको लागि ६२ अर्ब १ करोडभन्दा बढी बजेट विनियोजन गरेकोमा पुस मसान्तसम्म चालु खर्च ५० प्रतिशत र पुँजीगत खर्च जम्मा ७ प्रतिशत मात्र खर्च भएको हो ।

रक्षा मन्त्रालयमातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति समेत कमजोर देखिएको छ । नेपाली सेनाको जिम्मेवारीमा रहेको काठमाडौँ–तराई/मधेस दु्रतमार्गको वित्तिय प्रगती ९.८४ प्रतिशत भएको छ भने भौतिक प्रगति २०.२० प्रतिशत भएको छ ।

मन्त्रालयद्वारा सञ्चालित अन्य विकास निर्माणका आयोजनाहरुमा समेत भौतिक प्रगतिको तुलनामा वित्तिय प्रगति कमजोर देखिएको छ । समिक्षा बैठकमा बोल्दै रक्षा सचिव केदारनाथ शर्माले अर्थ मन्त्रालयबाट विनियोजन भएको बजेट निकाशा नहुँदा मन्त्रालयमातहत सञ्चालित कार्यक्रमहरूमा वित्तीय प्रगति न्युन भएको बताए ।

उनले आर्थिक वर्षको अन्त्यसम्ममा पुँजीगत खर्च ६० प्रतिशत पुर्याउने लक्ष्य रहेको बताउनु भयो । यो आर्थिक वर्षमा खर्च गर्न नसके अर्को आर्थिक वर्षमा बजेटभार धेरै हुने र पैसा कम हुने चिन्ता भएको कारण विकास निर्माणका आयोजनाहरुमा बढीभन्दा बढी खर्च गर्ने मन्त्रालयको लक्ष्य रहेको उनको भनाइ छ । 

उनले मन्त्रालयअन्गर्तका निकायहरुद्वारा सञ्चालित विकास निर्माणका आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित सरकार लागिपरेको बताए ।