बङ्गलादेशमा बीएनपीको स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने बाटो खुल्यो


काठमाडाैँ । बङ्गलादेशको राजनीतिक इतिहासमा नयाँ मोड आएको छ । हालै सम्पन्न आम निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गर्दै सत्ता यात्राको ढोका खोलेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ३ सय सदस्यीय संसदका लागि भएको निर्वाचनमा बीएनपीले हालसम्म २०९ सिटमा विजय हासिल गरेको छ । यस परिणामसँगै पार्टी अध्यक्ष तारिक रहमान बङ्गलादेशको आगामी प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएको छ । उनी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन् ।

देशभर बिहीवार सम्पन्न मतदानमा करिब १२ करोड ७० लाखभन्दा बढी मतदाताले उत्साहपूर्वक सहभागिता जनाएका थिए । विश्लेषकहरूका अनुसार यो निर्वाचन केवल सरकार गठनका लागि मात्र नभई देशको भावी राजनीतिक दिशा र संवैधानिक सुधारका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ ।

निर्वाचनसँगै ‘जुलाई राष्ट्रिय बडापत्र’ सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको थियो । उक्त जनमत संग्रहले व्यापक संवैधानिक परिवर्तनको संकेत दिएको बताइएको छ ।

यस पटकको प्रतिस्पर्धामा ५१ राजनीतिक दलका १ हजार ९८१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । तर लामो समयदेखि सत्तामा रहँदै आएको अवामी लिग भने निर्वाचन आयोगको प्रतिबन्धका कारण प्रतिस्पर्धाबाट बाहिर रह्यो । उक्त दलको नेतृत्व पूर्वप्रधानमन्त्री शेख हसिनाले गर्दै आएकी थिइन् ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै बङ्गलादेशमा नयाँ राजनीतिक युगको सुरुवात भएको विश्लेषण गर्न थालिएको छ । अब बन्ने सरकारबाट राजनीतिक स्थिरता, आर्थिक सुधार र संवैधानिक पुनर्संरचनामा ठोस पहल हुने अपेक्षा गरिएको छ ।